निजी क्षेत्रलाई बाइपास गरे मुलुकको समृद्धि नहुने :उद्योगी
बिराटनगर । सरकारले निजी क्षेत्रलाई करको स्रोत मात्रै बनाएको भन्दै उद्योगी ब्यवसायीहरुले निजी क्षेत्रलाई बाइपास गरेर सरकार अगाडि बढे मुलुकको समृद्धि नहुने बताएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा विराटनगरमा भएको ‘प्रादेशिक विकास बहस’ कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्ने बताएका छन । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रलाई बाइपास गरेर सरकार अगाडि बढे मुलुकको समृद्धि नहुने बताए ।
निजी क्षेत्र पनि मुलुक निर्माणको एउटा पाटो हो भनेर सरकारले नबुझेसम्म विकासले गति लिन नसक्ने उनको भनाई छ ।
‘निजी क्षेत्रलाई सरकारले बेवास्ता गरेकै कारण जति हुनुपर्ने थियो त्यति मुलुकको आर्थिक विकास नभएको हो,’ढकालले भने । निजी क्षेत्रको सहभागिता बिना देशको आर्थिक विकासको कल्पना पनि गर्न नसक्ने उनँले दाबी गरे ।
‘सरकार र निजी क्षेत्र एउटै सिक्काका दुई पाटा हुन् भनेर बुभ्mनु जरुरी छ,’ ढकालले थपे, ‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्र जस्तोसुकै योगदान गर्न तयार छ ।’
कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले पर्यटन, कृषि र ऊर्जाबाट मात्रै देशको विकास हुने बताए । उनले प्रदेश नम्बर १ मुलुकै सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको दाबी गरे ।
‘जोगबनी–किमाथांका सडकको ट्रयाक खोलेर मात्रै हुँदैन । यसलाई ४ लेनको बनाउनुपर्छ,’ प्रधानले भने, ‘त्यसपछि प्रदेश–१ भारत र चाइनाको व्यापरिक हब बन्छ ।’
अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठले जंगबहादुरकै समयको मानसिकताबाट मुलुक ग्रुजिरहेको बताए । उनले कर्मचारीको मानसिकता परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले आफ्नो जीवन आन्दोलनमै बितेको बताए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले दुई तिहाईको सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि आर्थिक सूचांकहरू निराशाजनक रहेको बताए । इतिहासमै सबैभन्दा बलियो सरकारले एक वर्षमा के कति काम ग¥यो भनेर मूल्यांकन गर्ने बेला आएको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सार्वजनिक खरिद ऐन संशोधन नभएसम्म विकासले गति लिन नसक्ने बताए । उनले पुराना संरचना र ऐनका कारण सरकारले काम गर्न नसकेको दाबी गरे । मन्त्री आङबोले पुरानै संरचना र मानसिकताका कारण जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरे ।
पुरानो संरचना र मानसिकता प्रदेशमा समेत सर्दै आएको उनको भनाइ थियो । सार्वजनिक खरिद ऐन संशोधन नगरेसम्म असारे विकास जारी रहने उनले बताए ।
असारे विकासकै कारण युवाहरू विदेश पलायन हुने गरेको मन्त्री आङ्बोले उल्लेख गरे ।