राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बनाउनुसः मन्त्री अर्याल



ललितपुरः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीकर्मी महिलाहरूलाई राम्रो सहकारीकर्मी बनेर महिलालाई आत्मनिर्भर बनाउन आग्रह गरेकी छिन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा शुरू भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । कार्यक्रममा मन्त्री अर्यालले इज्जत, प्रतिष्ठा कमाउनका निम्ती जुनसुकै क्षेत्रमा काम गरेपनि हुने भन्दै उनले आफुलाई रूची भएको ठाउँमा लागेर काम गर्न आग्रह गरिन् ।

मन्त्री अर्यालले सहकारीमा लागेर राम्रो सहकारीकर्मी बन्न महिलाहरूलाई आग्रह गर्दै सहकारीमार्फत महिलाहरूको आर्थिक अवस्था माथि उकास्‍ने कार्यमा लाग्‍न आग्रह गरिन । ‘तपाईहरू राम्रो सहकारीकर्मी बन्‍नुस, सहकारीकर्मी बनेर धेरै महिलालाई सहकारीमार्फत आत्मनिर्भर बनाउनुस’, मन्त्री अर्यालले भनिन् ‘आफुजत्तिकै अरूलाई बनाउने ठूलो कुरा हो । आफुमात्रै बन्न राजनीति र सहकारी क्षेत्र रोज्‍नुपर्दैन अरू नै थुप्रै क्षेत्र छन् । सहकारीमा लागेपछि आफु पनि बन्ने र अरूलाई पनि बनाउने हो ।’

सहकारीमार्फत महिलाहरूको सशक्तिकरण भइरहेको भन्दै उनले अब क्षमताको विकास गर्नुपर्ने बताइन् । नेपालमा महिला आन्दोलन बोल्न पाउने, लेख्‍न पाउने, चुन्न र चुनिन पाउने अवस्थादेखि शुरू भएर अहिले करिब चार हजार महिलाहरू महत्वपूर्ण ठाउँमा जनप्रतिनिधिको रूपमा चुनिने अवस्था आएको मन्त्री अर्यालले उल्लेख गरिन् ।

सहकारी संस्थाको साधारणसभामा आएर हाजिर गर्ने मात्रै नभएर सहकारीमा लागेका महिलाहरूले नेतृत्वमा बराबरी दाबी गर्नुपर्ने समेत बताइन । हिजोका दिनमा पित्रृसत्ताले गर्दा महिला कमजोर र पुरूष बलियो हुने दिन आएपनि अब त्यस्तो नहुने उनले भनाई छ ।

आफ्नो आवश्यकता पुरा गर्नका लागि सहकारीले महिलालाई गरेर खाउ भनेर सीप दिनुपर्ने मन्त्री अर्यालको भनाई छ । सहकारीमा जम्मा भएका पूँजीलाई लगानी गरेर आय आर्जन बढाउन लाग्नुपर्ने उनको भनाइ थियो । सहकारीहरूलाई दिने अनुदानमा अब तल्लो स्तरबाट उठेका र उठ्ने कोशिस गरिरहेका सहकारीलाई प्राथमिकता दिइने उनले भनाई छ । हिजोका दिनमा दुःख गरेर आएका सहकारीसम्म अनुदान नपुगेको भन्दै मन्त्री अर्यालले अब अनुदान दिँदा न्यायोचित ढंगले बितरण गरिने बताइन ।


क्लिकमान्डु