निजी क्षेत्रले सञ्चालन गरेको प्राईम टेलिभिजन प्रसारणमा रोक, यस्ताे छ आरोप



जाम्बिया । टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ ।

निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन ।

“गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले” सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरुले उल्लेख गरेका छन ।

सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणको बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिए ।

गलत, असन्तुलित, बनावटी सामाचार तथा अन्य सामग्रीहरु प्रसारण गरेर कानुनको उलंघन गरेको ठहर प्राधिकरणको बोर्डले गरेको उनले बताए ।

पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्न समेत नसकेकाले कारबाही स्वरुप सो टेलिभिजनको प्रसारण बन्द गराउनु परेको उनले पत्रकारहरुलाई बताए ।

उनले यो टेलिभिजनको प्रसारण बन्द गराउनुमा कुनै राजनीतिक कारण नभई प्रसारण सम्वन्धी ऐन उलङ्घन नै कारण भएको दावी पनि गरे ।

सरकार पक्षीय पार्टी र सरकारको विरुद्धमा अनावश्यक र झुटो विवरणहरु पेश गरेको भन्दै सो टेलिभिजनका विरुद्धमा उजुरी परेको पनि उनले जानकारी दिए । रासस/सिन्ह्वा


क्लिकमान्डु