काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लामा रहेका नगरपालिकाहरुलाई हरियाली पार्क निमार्णको लागि ९ करोड रुपैयाँ प्रदान गरेको छ । प्रत्येक नगरपालिकालई १ करोडको दरले कूल ९ करोड बराबरको रकम दिएको हो ।
आइतबार राजधानीमा आयोजित एक कार्याक्रममा महानगरका मेयर विधा सुन्दर शाक्यले नगर साझेदारी कार्यक्रम अन्र्तगत ९ वटै नगरपालिकाका प्रतिनिधिहरुलाई एक÷ एक करोड प्रदान गरे ।
महानगरपालिकाका मेयर शाक्यले काठमाडौंभित्रका कीर्तिपुर, शंखरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं महानगरपालिका मात्र राम्रो भएर हुदैन, वरिपरिको नगरपालिका पनि राम्रो हुनुर्पछ भन्ने अवधारणाका साथ हरियालीे पार्क निर्माणको लागि सहयोग गर्न लागिएको महानगरपालिकाको भनाई छ ।
उक्त रकम भने नगरपालिकाहरुले हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि खर्च गर्नु पर्नेछ ।
यो वर्ष देखि लागु गरिएको महानगरपालिका र नगरपालिका बीचको समन्वय कार्यक्रम अन्य वर्षहरुमा पनि निरन्तरता पाउने महानगरपालिकाले जनाएको छ ।
सम्झौंताअनुसार कीर्तिपुर नगरपालिकाले ‘युद्ध स्मारक पार्क’ निर्माण गर्नुपर्नेछ । त्यसैगरी शंखरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान, कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मन्दिर र त्यस वरपरको क्षेत्रलाई समेटी पवित्र कागेश्वरी धाम निर्माण गर्नुपर्नेछ ।
गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्र भित्र गोकर्णेश्वर पार्क निर्माण गर्ने, बुढानिलकण्ठ नगरपालिकाले हात्तिगौंडामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम, नागार्जुन नगरपालिकाले डाँडा पौवामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकाले उद्यान निर्माण र दक्षिणकाली नगरपालिकाले दक्षिणकाली मन्दिर वरपर बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, मन्दिरको सिँढी तथा पर्खाल निर्माण गर्ने समझदारीसहित चालू आर्थिक वर्षको बजेटबाट सबै नगरपालिकालाई सो रकम हस्तान्तरण गरिएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए ।
९ वटा नगरपालिका मध्ये हालसम्म ६ वटा नगरपालिकाले प्रस्ताव पेश गरेको छ । बाँकी ३ वटा नगरपालिकाले छिटै नै प्रस्ताव पेश गर्ने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको सहयोगलाई लिएर नगरपालिकाहरु सकारात्मक देखिएका छन् ।
प्रतिक्रिया