डुबायो बिटक्वाइनलेः संस्थापकको निधन भएपछि १६ अर्बको ‘भर्चुअल मनि’ हरायो



काठमाडौं । क्रिप्टोकरेन्सीका एक संस्थापकको अचानक निधन भएपछि अर्बौं मूल्य बराबरको डिजिटल मुद्रा हराउने खतरा बढेर गएको छ ।

उत्तर अमेरिकी देश क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएको समाचार सार्वजनिक भएको छ ।

तर उनले आफूसँगै उक्त डिजिटल मुद्राको पासवर्ड समेत लिएर बितेपछि संसारका धेरै नागरिकले प्रयोग गरेको क्रिप्टोकरेन्सी हराउने खतरा बढेर गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अर्बौं मूल्य बरारबको डिजिटल मुद्रा हराउने क्रम बढेर गएको छ ।

क्वाडरिगा नामक सो भर्चुअल अर्थात भौतिक अस्तित्व नभएको मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर भएको छ । लगभग १५ अर्ब ७५ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा हराइरहेको छ ।

संस्थापक गेराल्ड कोटेनको गएको डिसेम्बरमा मृत्युभए यता ती क्रिप्टोकरेन्सी मुद्रा कहाँ छन् भन्ने पत्ता लगाउन सकिएको छैन । जसका कारण समस्या बढेर गएको छ ।

ती व्यक्तिले आफूसँगै पासवर्ड समेत लिएर बितेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ । ३० वर्षीय कोटेन एक्लैले क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन जिम्मेवारी लिएका थिए ।

जनवरी ३१ मा क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतमा पेश गरिएको कागजातमा कोटेनकी विधवा जेनिफर रोबर्टसनले आफ्नो पतिले क्वाडरिगा सम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफुलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी बिबिसीले जनाएको छ ।

‘पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले केही लेखेको कुरा पत्ता लगाउन सकेकी छैन’ उनले बयानमा उल्लेख गरेकी छिन् ।

क्वाडरिगा कम्पनीले एक जना अनुसन्धानकर्मीलाई सूचना खोज्न लगाएपनि उनले कोटेनको फोन र कम्प्युटरको सहारामा थोरै मुद्रामात्रै खोज्न सकेको बताइएको छ ।

कम्पनीका अनुसार १ लाख १५ हजार मानिसहरूको क्वाडरिगामा खाता रहेको छ । एक अनुमान अनुसार कम्पनीले २१ अर्ब ८३ करोड बराबर रुपैया ऋण तिर्नु रहेको छ । त्यसमा ६ अर्ब १३ करोड नगद ऋण रहेको छ ।

अदालतमा पेश गरिएको कागजातका अनुसार क्वाडरिगाले चोरीबाट बच्न धेरै जसो मुद्रा इन्टरनेटमा राखेको थिएन । कोटेनको भारत भ्रमणको क्रममा मृत्यु भएको थियो ।

क्रिप्टोकरेन्सी भनेको डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएका मुद्रा हो । क्रिप्टोकरेन्सीको केन्द्रीय बैंक रहँदैन र संसारभरका थुप्रै कम्प्युटरमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुने जानकारहरु बताउँछन् ।


पुष्प दुलाल