त्रिभुवन विमानस्थलबाट रोकिएन तस्करी, सुनजस्तो पहेँलो धातुसहित १ व्यक्ति पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

कतार एयरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचका क्रममा बिहान पक्राउ गरिएको हो । सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित निलोपुलबाट सोही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई सोमबार साँझ उक्त धातुसहित पक्राउ गरिएको हो । ठगी गर्ने उद्देश्यले पहेँलो धातु लिएको खुल्न आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता चन्द्रागिरि नगरपालिका-१५ तीनथाना बस्ने मनोज चापागाईँको घरको मुलढोकाको ताल्चा फोडेर करीब एक लाख ६९ हजार बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु