मोदीको नोटबन्दी र जिएसटीका मास्टरमाइन्ड दास बने आरबिआईका नयाँ गभर्नर



नयाँ दिल्ली । भारतीय सरकारले रिबर्ज बैंक अफ इन्डियाको गभर्नरमा शक्तिकान्त दासलाई नियुक्त गरेको छ । उनको कार्यकाल तीनवर्षको हुने छ । उनले बुधबारदेनि नै आरबिआईको पद बहाली समेत गरेका छन् ।

कार्यकाल बाँकी रहदै नरेन्द्र मोदीको केन्द्र सरकारसँग असहमति भएपछि आरबिआईका गभर्नर उर्जित पटेलले राजिनामा दिएपछि सरकारले दासलाई नयाँ गभर्नरको रुपमा नियुक्त गरेको हो ।

भारतको केन्द्र सरकार र आरबिआईबीच पछिल्लो समय सम्बन्ध सहज छैन । सरकारले आरबिआईको स्वायत्ततामा हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ ।
आरबिआईको २५ औं गभर्नरमा नियुक्त दास भारतीय अर्थमन्त्रालयका पूर्व सचिव हुन् । नरेन्द्र मोदीले सन् २०१६ मा ५०० र १००० दरको नोटबन्दी घोषणा गर्दा उनलाई सहयोग गर्ने कोरटिमको सदस्य थिए । गभर्नरमा नियुक्त हुनु अगाडि उनी वित्त आयोगमा सदस्य थिए ।

भारतीय संचारमाध्यमका अनुसार आरबिआईको शाख बचाउनु नै दासको सबैभन्दा ठूलो चुनौती छ । ५ वर्ष अगाडि अत्याधिक बहुमतका साथ सत्तामा आएका मोदीको दल भारतीय जनता पार्टीले ५ वटा राज्यमा भएको विधानसभा निर्वाचनमा नराम्रोसँग पराजित भएको छ । तीनवटा राज्यमा सरकारको नेतृत्व गुमाएको भाजपासँग चार महिनापछि हुने लोकसभा निर्वाचन जित्ने तयारी गर्नु छ ।
यस्तोमा भारतीय रुपैयाँको तुलनामा अमेरिकी डलरको बढ्दो मूल्य र बढ्दो ब्याजदरले चुनावलाई प्रभावित पारेको हुन्छ । भारत सरकारले आरबिआईसँग रहेको पैसा मागेको छ । जसको कारण केन्द्र सरकार र आरबिआईबीच विवाद बढेको हो ।

अर्थसचिवको रुपमा नवनियुक्त आरबिआई गभर्नर दासले नोटबन्दीको योजनासँगै यसालाई कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नोटबन्दीको घोषणापछि सबैभन्दा बढी सार्वजनिक वयानपनि उनले नै दिएका थिए । जसको कारण नोटबन्दीको मोर्चामा आरबिआई नभएर र सरकार अगाडि थियो । गुड्स एण्ड सर्विसेज ट्याक्स(जिएसटी लागु गर्नपनि उनको भूमिकाक थियो ।

हालै मात्र आएको ५ राज्यको विधानसभा निर्वाचनमा भाजपाको हारको एउटा कारणमा नोटबन्दी र जिएसटीलाई समेत मानिएको छ ।


क्लिकमान्डु