बीमा कम्पनीले साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन मागे




काठमाडौं । बीमा कम्पनीहरुले बार्षिक साधारणसभा गर्ने म्याद ६ महिना थपिदिन बीमा समितिसँग माग गरेका छन् । बीमा ऐन तथा कम्पनी ऐनले चालु आर्थिक बर्षको पुस मसान्तभित्रमा गत आर्थिक बर्षको बार्षिक साधारणसभा गरिसक्नुपर्ने ब्यवस्था गरेको भएपनि कम्पनीहरुले सो समय असार मसान्तसम्म पुर्याइ दिन माग गरेका हुन् ।

यसबर्षदेखि कार्यान्वयनमा आएको नेपाल लेखामान मापदण्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार लगायतका काम गर्न समय नपुगेको भन्दै बीमा कम्पनीहरुले यस्तो माग गरेका हुन् । बीमा कम्पनीहरुको संस्था नेपाल विमक संघले औपचारिक निर्णय गरेर नै समय थप गरिदिन समितिसँग अनुरोध गरेको छ ।

संघले म्याद थपिदिन अनुरोध गर्दै समितिमा पत्र पठाएको समितिका कायममुकायम कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । संघले पठाएको पत्रका बारेमा समितिले अझै केही निर्णय भने गरिसकेको छैन ।

बीमा कम्पनीहरुले पुस मसान्तभित्रमा बार्षिक साधारणसभा गरिसक्ने हो भने अहिलेसम्म बीमा समितिबाट आफ्नो वित्तीय विवरण स्वीकृत गराएर बार्षिक साधारणसभाको सार्बजनिक सुचना प्रकाशित गरिसक्नु पर्ने हुन्थ्यो । तर, अहिलेसम्म अधिकांश कम्पनीले आफ्नो वित्तीय विवरण समितिबाट स्वीकृत नै नगराएकोले पनि तोकिएको समयमा कम्पनीहरुको बार्षिक साधारणसभा हुने सम्भावना असाध्यै कम छ ।


क्लिकमान्डु