हस्तकलाका सामाग्री पर्यटकलाई बेच्दा भ्याट फिर्ता दिने अर्थमन्त्री खतिवडाको घोषणा



काठमाडौं ।  अर्थमन्त्री डा. यूवराज खतिवडाले हस्तकला निर्यातमा ५ प्रतिशत अनुदान दिने बताएका छन् । उनले १६औँ हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै निर्यातमा ५ प्रतिशत अनुदान दिने बताएका हुन् ।

‘यो विषयमा थप के गर्नु पर्छ कति वस्तुलाई अनुदानको दायरमा ल्याउनुपर्छ । त्यसका लागि तपाइलाई मन्त्रालयको ढोका खुल्ला छ हामी छलफल गर्नेछौँ,’ मन्त्री खतिवडाले भने ।

उनले स्वदेशी वस्तु उपयोगमा जोड दिनुका साथै आन्तरिक वस्तुको प्रयोग गर्न सबैलाई आग्रह गरे । आन्तरिक वस्तुको बजार व्यवस्थापनका लागि आन्तरिक वस्तु किन्ने बानी बसाल्नु पर्ने उनको भनाई थियो ।

उनले स्वदेशी उत्पादनलाई बजारसम्म पुराउन प्रदर्शनी स्थलको आवस्यक्ताको कुरामा सरकार सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । मन्त्री खतिवडाले हस्तकलालाई भविष्यमा हरेक पुष्तासम्म पुराउन संस्थापक रुपमा तालिम केन्द्र र उत्पादन गर्ने कारखानालाई सँगै लिएर जानु पर्ने बताए ।

‘विदेशी पर्यटकले हस्तकलाको सामग्री किनेर लगेमा त्यसमा हामीले मूल्य अभिबृद्धि कर फिर्ता दिने सोचेका छौ,’खतिवडाले भने । उनले हस्तकलाको निर्यातको अनुमानित तथ्यांक नभई सहि तथ्यांक निकाल्न आग्रह समेत आग्रह गरे ।

बौद्धिक सम्पत्तिलाई सुरक्षित गर्ने र त्यो अधिकारको ऐन संसोधन हुने क्रममा रहेकोले सुधार गर्नुपर्ने कुराहरु सहजै बताउनु आवश्यक भएको खतिवडाको भनाई छ ।

यस्तै उनले प्रत्येक स्थानीय तहले स्थानिय रुपमा गर्न सक्ने काम र त्यस्ता कलाको क्षेत्र ‘क्राफ्ट सिटी’ बनाउन चाहेमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘हरेक प्रदेशमा १-१ क्राफ्ट सिटी बनाउनुस त्यसमा सरकारले सहयोग गर्न तयार छ ,’ मन्त्री खतिवडाले भने । हस्तकलामा आवश्यक पर्ने आधुनिक मेसिनहरु आयात गर्न पनि सरकारले सहयोग गर्ने उनले बताए ।

मेला उद्घाटन कार्यक्रममा ललितपुरका मेयर चिरीबाबु महर्जन, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल तथा हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्यको उपस्थिती रहेको थियो ।

मेला संयोजक तथा महासंघका अध्यक्ष हेमरत्न शाक्यले ५ दिनसम्म चल्ने उक्त मेलाले १० करोडको कारोबार गर्ने अनुमान गरेका छन् । गत वर्षको मेलामा ८ करोडको कारोबार भएको थियो ।

मेलामा काष्ठकला, धातु, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छाला जन्य सामान, प्राकृतिक रेसा वा वाँसका सामानहरु विक्री तथा प्रदर्शनका लागि राखिएका छन् ।

उक्त कार्यक्रममा उत्कृष्ठ कलाकारहरुलाई रकम, सुनको तोक्मा र प्रमाणपत्र पनि वितरण गरिएके थियो । मेलामा २ सय बढी स्टलहरु राखिएका छन् । मेलामा विदेशी हस्तकला व्यवसायीहरुका सामाग्रीका स्टलहरु पनि राखिएका छन्  विदेशी स्टलहरु २० वटा रहने छन् भने अन्य सबै स्टलमा नेपाली हस्तकलाहरु प्रस्तुत हुने छ ।


क्लिकमान्डु