तरलता अभावकै बेलामा नगद लाभांश बाँढ्ने लहरः क्यास फ्लो कसरी मिलाउँदैछन् बैंकहरु ?




काठमाडौं । गत असोज मसान्तसम्मको तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी २ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी छ । यी बैंक तथा वित्तीय संस्थाहरुले औषतमा १० प्रतिशतका दरले नगद लाभांश बाढे भने पनि २९ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी नगद बाढ्नु पर्ने हुन्छ ।

बैंक वित्तीय संस्थाहरुले यसबर्ष गर्ने बार्षिक साधारणसभाबाट सेयरधनीलाई नगद लाभांश नै दिने संकेत गरेका छन् । र, बैंक तथा वित्तीय संस्थाहरुले सामान्यत पुस मसान्तसम्ममा बार्षिक साधारणसभा गरिसक्नु पर्नेछ ।

ऋण दिनको लागि पैसा (तरलता) कम भयो भनिरहेको बैंकिङ क्षेत्रले अबको केही महिना (पुस मसान्तसम्म) भित्रमा साढे २९ अर्ब रुपैयाँभन्दा बढी नगद सेयरधनीलाई बाड्नु पर्ने भएपछि उनीहरुलाई थप तनाब हुने देखिएको छ । किनभने बैंकहरुले सेयरधनीलाई दिने नगद लाभांश निक्षेपको रुपमा फेरि बैंकमा तत्काल आउने भन्ने पनि हुँदैन ।

सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतम यसरी वितरण गरिएको नगद लाभांशको रकम बैंकमा निक्षेपको रुपमा आउन समय लाग्ने र फर्केर आउँदा कम हुने बताउँछन् ।

‘नगद लाभांश वितरण गर्दा एकमुष्ठ रुपमा सेयरधनीलाई नगद दिनु पर्ने हुन्छ, त्यो पैसा सेयरधनीले आफ्नो बैंक खाताबाट झिकेर आवश्यक काममा खर्च गरिसकेपछि फर्केर बैंकसम्म आइपुग्नु भनेको ‘ट्रिपल डाउन’ हुदै आउने हो, त्यसैले अहिलेको तरलता अवभावको अबस्थामा नगद लाभांश वितरणले झन् समस्या बढाउन सक्छ,’ प्रमुख कार्यकारी अधिकृत गौतमले भने ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि नगद लाभांश लिने सेयरधनीले बैंकबाट लिएको ऋण तिरेको अबस्थामा मात्रै सहयोग पुग्ने बताउँछन् । यी दुबै जना बैंकर्सको तर्कले नगद लाभांश वितरणपछि बैंकहरुलाई तरलता ब्यवस्थापनमा थप जटिलता उत्पन्न हुने संकेत गर्छ ।

तर, यसको लागि बैंकहरुले नयाँ रणनीति बनाएका बुझिएको छ ।

यस्तो रणनीतिमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो बार्षिक साधारणसभा नै पुस मसान्तको छेको पारेर गर्न लागेका छन् ।

यसको फाइदा बैंकहरुलाई के हुन्छ भने पुस मसान्तपछि तरलता अबस्थामा केही सुधार हुने अपेक्षा बैंकर्सदेखि नीति निर्माता र नियामकसम्मको छ । पुस मसान्तमा बार्षिक साधारणसभा गरेपछि त्यसको भुक्तानी दिन माघको दोस्रो सातासम्म लगाउन पाइने र माघ दोस्रो सातादेखि तरलता अवस्थामा सुधार आउन सक्ने अपेक्षाले बैंकहरुले बार्षिक साधारणसभा ढिला गरिरहेका बताइन्छ ।

यसको विकल्पमा बैंकहरुले बोनस सेयर नै दिन पनि सक्थे । तर, बोनस सेयर दिदा सेयरको आपूर्ति बढ्ने र बैंकले सोचे अनुसारको ब्यवसाय गर्न अहिलेकै पुँजीले पुग्ने अबस्था भएकोले उनीहरु नगद लाभांश दिने रणनीतिमा पुगेका छन् ।

माघको दोस्रो सातादेखि नगद लाभांश वितरण गर्ने गरी क्यास फ्लोको ब्यवस्थापन मिलाउँदा तरलता अभावको संकटमा नकारात्मक असर कम पर्ने र सेयर आपूर्ति बढी भएर सेयर बजारमा पनि नकारात्मक असर नपर्ने गरी बैंकर्सले रणनीति बनाएका देखिएको छ ।

यसअघिसम्म सिटिजन्स, सानिमा, नविल, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले दशैं अगाडि नै बार्षिक साधारणसभा गरिसक्ने गरेका थिए ।


क्लिकमान्डु