बीरगञ्ज भन्सार कार्यालयले ३ महिनामा लक्ष्यभन्दा पाँच अर्ब बढी राजश्व उठायो



पर्सा । चालू आर्थिक वर्ष २०७५\७६ को तीन महिनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ ।

सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जानकारी दिए ।

सङ्कलित राजश्व गत आवकोे साउनदेखि असोजसम्मको तुलनामा ४२ प्रतिशतभन्दा बढी हो । आव २०७४\७५ को साउनदेखि असोजसम्ममा ३० अर्ब ५६ करोड ३३ लाख राजश्व सङ्कलन भएको थियो ।

देशको प्रमुख भन्सार नाका भएर आयात निर्यातमा वृद्धि भएसँगै राजश्व सङ्कलनमा सुधार आएको खत्रीको भनाइ छ ।

चालू आवकोे असोजमा मात्र लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । कार्यालयले असोजका लागि १२ अर्ब एक करोड २४ लाख लक्ष्य पाएकामा १६ अर्ब ५४ करोड ६७ लाख राजश्व सङ्कलन गरेको छ ।


क्लिकमान्डु