तीनवटा राजस्व कार्यालयमा जान उपसचिवको हानथापले अर्थले सरुवा गर्न सकेन, नयाँ खुलेका कार्यालय हाकिम बिहिन



काठमाडौं । तीनवटा राजस्व कार्यालयमा जान उपसचिवको दौडधुपले गर्दा अर्थमन्त्रालयले उपसचिवको नियमित गर्नुपर्ने सरुवा गर्न सकेको छैन ।

अर्थमन्त्रालयले अधिकृतहरुको सरुवा असोज महिनामा गरेपनि उपसचिवको सरुवा भने गर्न सकेको छैन । असोज महिनामा अर्थमन्त्रालयले उपसचिवभन्दा तलका कर्मचारीको सरुवा गर्ने गर्छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार मुख्य गरेर भरतपुर,त्रिपुरेश्वर,बालाजु कार्यालयमा जानको लागि एक दर्जन उपसचिवको दौडधुप छ ।

‘भरतपुर कार्यालयमा जानको लागि चारदेखि पाँचजना उपसचिव लागेका छन्,सबैभन्दा बढी दवाव भरतपुर कार्यालयको लागि छ,’अर्थमन्त्रालयले स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

यस्तै अवस्था त्रिपुरेश्वर,बालाजु कार्यालयमा पनि छ । यसरी जान खोज्ने उपसचिवहरु राजनीतिक निकटताको आधारमा सरकारको नेतृत्व गरेको दलसँगका छन् । ‘ती कार्यालयमा कुन उपसचिवलाई पठाउने भन्ने निर्णय गर्न नेतृत्वले सकेन,एउटालाई पठाउदा अर्को रिसाउने सबै आफ्ना मान्छे भएपछि समस्या भयो।’

उपसचिवको सरुवा नगर्दा कर्मचारीले राजस्व संकलनको लागि लिने लक्ष्यमा भने समस्या उत्पन्न भएको छ । सरुवा हुने पक्का भएपछि अहिले कार्यालयमा काम गरिराखेको कर्मचारीले काम गर्न सक्दैन । अर्थले राजस्वका कर्मचारीलाई टार्गेट दिने गरेको छ ।

उपसचिवको सरुवा नभएपछि भदौ र असोज महिनामा अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गरेका राजस्व कार्यालयहरु कार्यालय प्रमुख बिहिन भएका छन् । जसले गर्दा ती कार्यालयको सेवा प्रवाहमा पनि समस्या परेको छ ।

अर्थमन्त्रालयलले एक पटक उपसचिवको सरुवाको लिष्ट फाइनल गरेको थियो । त्यही दवावको कारण सरुवा गर्न सकेको थिएन ।

तिहार अगाडि उपसचिवको सरुवाको फाइनल गर्ने तयारी अहिले मन्त्रालयले गरेको छ ।


क्लिकमान्डु