दशैँ बजारः भैरहवा नाकाबाट बाहिरिन्छ दैनिक ३ करोड
रुपन्देही । दशैँ तिहार नजिकिएसँगै रुपन्देहीको भैरहवा बजार सुनसान रहन्छ, तर सिमावर्ती भारतीय बजार सुनौली भने गुल्जार भइरहेको छ ।
सुनौलीमा भीडभाड हुने भैरहवातिरबाटै जाने नेपाली उपभोक्ताका कारणले हो । वारिभन्दा सुनौलीमा सस्तोमा सामान पाइने मनोविज्ञानका कारण नेपाली उपभोक्ता उतै पुग्छन् । सोही कारण नेपाली उपभोक्ताको दशैँबजार बनेको छ, सुनौली । सुनौली बजारमा अहिले हजारौँ नेपाली उपभोक्ताको ताँती लागेको छ ।
दैनिक उपभोग्य वस्तुहरु दाल, चिनी, तेल, चियापत्ति, साबुन, कपडा, भाँडाकुँडालगायत साम्रगी उतैबाट ल्याइन्छ । रुपन्देही मात्र नभई नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची लगायत जिल्लाका बासिन्दा आउँछन् किनमेल गर्न ।
नेपाली उपभोक्ता भारतीय बजार जानुको नेपालमा हुने कालोबजारी प्रमुख कारण हो । नेपालतर्फ चाडबाडको समयमा कालोबजारी फस्टाउने गरेका कारण नेपाली उपभोक्ता भारतीय बजारतर्फ आर्कषित हुने गरेको तहसिल सुनौली उद्योग व्यापार मण्डलका अध्यक्ष सुभाष जयसवालको भनाइ छ ।
कुनै सामान भारतीय र कुनै नेपाली बजारमा सस्तो पर्छ जयसवाल भन्छन् तर, हामीले गुणस्तरमा ध्यान दिएका छौँ र नेपाली उपभोक्ता भारततिरै आउँछन् ।
उनले थपे नेपालमा रकममा पनि चर्को मुल्य र वस्तुमा पनि मिसावट गरी उपभोक्ताको ढाड सेक्ने काम हुदाँ नेपाली उपभोक्ता भारतीय बजारमा आउने गरेका छन् ।
पोहोरको भन्दा अहिले राम्रो
पोहोरको दशै तिहार भन्दा अहिले व्यापार राम्रो रहेको सुनौली उद्योग व्यापार मण्डलका अध्यक्ष जयसवालको भनाई छ । मधेस आन्दोलनमा नाकाबन्दी पछि वीरगञ्जबाट हुँदै आएको व्यापार भैरहवा नाकातर्फ ‘डाइभर्ट’ भएको थियो । मालवाहक गाडीको बाक्लो ओहोरदोहोरका कारण नाकामा ट्राफिक जामको समस्या अत्यधिक थियो । जसको कारण पोहोरको दशै तिहारमा व्यापार घटेको थियो ।
नाकामा अत्यधिक ट्राफिक जाम, भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)को जाँच र गर्मीका कारण पनि उपभोक्ता घट्नुको मुख्य कारण रहेको जयसवाल बताउँछन् ।
तर, यस वर्ष उद्योगी व्यवसायीहरुको पहलमा जाम हटाइएको, मौसम पनि समान्य रहेकोले नेपाली उपभोक्ता सुनौलीमा खचाखच रहेको उनले बताए । उनले यस वर्ष व्यापारमा सहज भएपछि दैनिक ३ करोड रुपैयाँको कारोबार भइरहेको अध्यक्ष जयसवालले बताए । भारतीय बजारमा आउने ९५ प्रतिशत नेपाली उपभोक्ता हुन् ।
यो कारोबार तिहारको भाई टिकासम्म चल्छ । उनका अनुसार सुनौलीमा जनरल स्टोर, कपडा पसल, मोबाइल स्टोर, भाडाकुडा लगायत गरी करिब ८ सय पसल रहेका छन् । अहिले दैनिक ४\५ हजार नेपाली उपभोक्ता बजारका लागि सुनौली आउने गरेको अनुमान छ ।
दशैँमा उपभोग्य वस्तु र कपडाको कारोबार बढी हुन्छ भने तिहारमा पनि उभोग्य वस्तु, कपडाको साथै विजुलीको बढीको कारोबार हुन्छ ।
सरकारले चिनी आयातमा रोक लगाएपछि व्यापारीलाई अलिकत समस्या परेको उनले सुनाए । सुनौलीमा चिनी सस्तो मूल्यमा पाइने हुदाँ सस्तो चिनी खरिदको नाममा उपभोक्ताहरुको अन्य साम्रगीमा ढाँड सेकिने गरेको छ ।
नेपाली उपभोक्ताहरु सुनौली मात्र होइन सुनौली भन्दा ८ किलोमिटर टाँढा नौतनवा बजारसम्म पनि उपभोग्य वस्तु खरिद गर्न पुगेका छन् । सुनौली जस्तै नौतनवा पनि जताततै नेपाली उपभोक्ताहरु नै देखिने गरेका छन् । सुनौलीबाट नौतनवाका लागि २ यस वटा टेम्पो चल्ने गर्दछ । जसमा ९५ प्रतिशत नेपाली उपभोक्ताहरुले यात्रा गरिरहेका छन् ।
सुनौलीबाट बजार गरेर फर्किदै गरेकी अवस्था भेटिएकी बुटवल उपमहानगरपालिका शितलनगरका गिता ढकालले सुनौलीमा उपभोक्ता ठग्ने कार्य भइरहेको बताइन् ।
दशैँको लागि पहिलो पटक सुनौली बजार गर्न आएको बताउने उनले सुनौलीमा व्यापारीहरुले चिनी सस्तो मूल्यमा दिएर अन्य साम्रागीमा ठग्ने गरेको सुनाइन् ।
दशैँको लागि पहिलो पटक सुनौली बजार गर्न आएको हु उनले भनिन् यहाँ त चिनी मात्र सास्तो रहेछ अरु साम्रगी त नेपाल भन्दा महंगो छ, अब सुनौलीमा बजार गर्न कहिल्यै आउदैन ।