नागरिक दशैंमा व्यस्त, सरकारलाई भने कर उठाउने चटारो




काठमाडौं । नागरिकलाई दशैंको रमझमले राम्रै गरी समातेको छ । बजारमा उपभोग्य बस्तु किन्नेको भिडभाड छ । हुने खाने र हुँदा खाने समेत दशैं मनाउन तम्तयार छन् ।

घरपरिवारबाट टाढा रहेकाहरु घर फर्कन थालिसकेका छन् । घटस्थापनको दिनदेखि सुरु हुने दशैंको लागि भन्दै आफ्नो थातथलोबाट टाढा र विदेशमा गएकाहरु समेत घर फर्कन थालेका छन् ।

सरकारले पनि दशैं लक्षित विभिन्न कार्यहरु गर्न थालेको छ । दशैंको लागि सुरक्षा ब्यवस्था, दशैंको लागि सार्बजनिक सवारीसाधनको ब्यवस्थापन, ट्राफिक ब्यवस्थापन, सडक मर्मत सम्भार लगायतका काम सरकारले करिब गरिसकेको छ ।

तर, सबैका आआफ्नै दुःख हुन्छन् । कर प्रशासनलाई भने यतिबेला कर उठाउने चटारोले छोपेको छ ।

कानुन अनुसार आर्थिक बर्ष सकिएको भएको ३ महिनामा आयकर बुझाउनु पर्छ । यसैको लागि आन्तरिक राजस्व विभागले असोज मसान्तभित्र आय विवरण बुझाउन करदातालाई आग्रह गरेको छ ।

दशैंको अवसरमा सरकारी कर्मचारीलाई पनि बिदा मनाउने चटारो रहेको छ । दशैंका अवसरमा सरकारले चाँडै सरकारी कर्मचारीलाई बिदा दिएको भए राजस्व संकलनमा समेत समस्या पर्ने थियो ।

दशैंको बेलामा करदाताको आम्दानी र खर्च अन्य समयको भन्दा दुबै बढी हुन्छ । यस्तो बेलामा आयकर तिर्नै पर्ने कानुनी ब्यवस्था भएकोले कोही करदातालाई सजिलो वा कोही करदातालाई अप्ठेरो परे पनि कानुन पालना भने गर्नै पर्ने हुन्छ ।

आयकर ऐन, २०५८ को दफा ९६ मा आय वर्ष समाप्त भएको ३ महिना भित्र आय विवरण बुझाउनु पर्ने व्यवस्था भएकाले आर्थिक वर्ष २०७४÷०७५ को आय विवरण र कर २०७५ असोज महिना भित्र बुझाउन विभागले आग्रह गरेको हो ।

कानुनले नै आर्थिक वर्ष सुरु भएको तीन महिनाको आय कर बुझाउने व्यवस्था गरेको छ । कानुनले नै व्यवस्था गरेअनुसार सरकार कर उठाउन लागिपरेको छ ।

विभागले सबै करदातालाई यही असोज २७ गते शनिबार समेत सबै कार्यालय तथा राजस्व बुझाउने बैंक खुला रहने भन्दै समयमै तिर्न आग्रह गरेको हो ।


क्लिकमान्डु