बाबुरामले भने–सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छन्



काठमाडौं । नेपालको पुल तथा भौतिक संरचना निर्माणको ठेक्का लिएर अलपत्र पारेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न चौतर्फी दबाव परेको छ ।

सरकारले मंगलबार मात्रै पप्पुका अध्यक्ष सुमित रौनियारलाई पक्राउका लागि वारेन्ट जारी गरेको छ । तर, पप्पुका मुख्य व्यक्ति हरिनारायण रौनियार हुन् । उनी भने प्रतिनिधिसभाको सांसदको रुपमा सिंहदरबार र बानेश्बर आउजाऊ गरिरहेका छन् ।

देशभरका करिब ३५ वटा ठूला पुल निर्माण कार्य अलपत्र पारेको उनीमाथि आरोप छ ।

पछिल्लो पटक ठेक्का मात्रै लिने, काम नगर्ने भेर बद्नाम भएका सोही ठेकेदारलाई नै नेपाल राष्ट्र बैंकको भवन निर्माणको समेत जिम्मा दिइएको छ ।

यसै सन्दर्भमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत सार्वजनिक खरिद ऐनमा संशोधन नगरेसम्म पप्पु जस्ता ठेकेदारले निर्माण कार्यको ठेक्का पाइरहने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–‘सार्वजनिक खरिद ऐनको संशोधन नगरेसम्म ठेक्का पाइरहने र राजनीतिक नेतृत्व, प्रशासन, इञ्जिनियर, ठेकेदारबीच कायम रहेको कमिसनखोरीको गठबन्धन नभत्काएसम्म पप्पुहरूले ठेक्का पाइरहने, भ्रष्टहरू मालामाल भैरहने र देश कंगाल बनिरहने शृंखला रौकिन्न है !’

उनले सार्वजनिक खरिद ऐनमा रहेको लुप होलका कारण पप्पुहरुले ठेक्का पाइरहेको भन्दै त्यसको सुधारको माग गरेका छन् । उनले ठेकेदार, राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रमा रहेको कमिसनखोरी गठबन्धनपनि विकास निर्माणको बाधक रहेको बताएका छन् ।


क्लिकमान्डु