बजार अनुगमनः २५ प्रतिशत करदाताले कर छली गरेको राजस्वले भेट्यो




काठमाडौं । करमा दर्ता भएर कारोबार गरेका करिब २५ प्रतिशत करदाताले कर कानुनको पालना नगर्ने गरेको राजस्व प्रशासनले फेला पारेको छ । कर कार्यालय तथा करदाता सेवा कार्यालयहरुको अनुगमन टोलीले गत भदौ १० गतेदेखि गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो ।

आन्तरिक राजस्व विभागले दिएको जानकारी अनुसार भदौ १० गतेदेखि असोज ४ गतेसम्मको बजार अनुगमनमा १२ सय ६३ करदाताको विवरण अध्ययन गरिएको थियो । यस्तो अनुगमनमा कर कानुन पालनामा कैफियत देखिएको भन्दै ३ सय करदातालाई कानुनी कारबाही गरिएको छ ।

‘भदौ १० गतेदेखि असोज ४ गतेसम्म १२ सय ६३ वटा करदाताको बजार अनुगमन भइ त्यसमध्ये ३ सयवटा करदातालाई कानुनी कारबाही गरिएको छ,’ विभागले भनेको छ ।

विभागले चालु आर्थिक बर्षको राजस्व संकलन लक्ष्यलाई सहयोग पुर्याउने र करदाताको कर परिपालनाको स्तरलाई बढाउन सहयोगी भूमिका निभाउने उद्येश्यले गत भदौ १० गतेदेखि बजार अनुगमन कार्यलाई तिब्रता दिएको हो ।

विभाग अन्तगर्तका काठमाडौं उपत्यका भित्र तथा वाहिरका आन्तरिक राजश्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट हप्ताको ३ दिन कम्तीमा दुईवटा टोली बजार अनुगमनमा जाने र सो कोे प्रतिवेदन आन्तरिक राजस्व विभागमा पठाउने गरेका छन् ।

अनुगमनको क्रममा केही करदाताहरुको लुज विल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको र विवरण अद्यावधिक नगरेका करदाताहरुलाई कानुनी कारवाही गरी २३ लाख ९२ हजार ५ सय रुपैयाँ राजस्व संकलन समेत गरिएको विभागको भनाइ छ ।

विभागले शुरु गरेको बजार अनुगमन कार्यलाई यस आर्थिक वर्ष भरि निरन्तरता दिंदै जाने विभागको कार्ययोजना रहेको बताइएको छ ।


क्लिकमान्डु