‘कर छली’को अनुगमनमा निस्कियो राजस्व प्रशासन, देशभरका कर कार्यालयको टोली बजारमा




काठमाडौं । करदाताले कर कानुनको पालना गरे नगरेको अनुगमनमा कर प्रशासन निस्किएको छ । आन्तरिक राजस्व विभागको निर्णय अनुसार देशभरका कर कार्यालय र करदाता सेवा कार्यालयका अनुगमन टोली बजारमा निस्किएको हो ।

अनुगमन टोलीले करदाताले प्यान नम्बर लिए नलिएको र मूल्य अभिबृद्धि कर (भ्याट) ऐनको प्रावधान अनुसार विल विजक जारी गरे नगरेको तथा खरिद विक्री खाता राखे नराखेको जस्ता विषयमा बढी केन्द्रीत हुने विभागले जानकारी दिएको छ ।

‘करदाताहरुले स्थायी लेखा नम्बर (प्यान) लिए नलिएको, भ्याट ऐन बमोजिम बिल विजक जारी गरे नगरेको, खरिद विक्री खाता राखे नराखेको लगायतका कर कानुनको परिपालना भए नभएको सम्बन्धमा निरीक्षण गर्न आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुबाट कर अधिकृतहरुको टोली बनाएर बजार अनुगमनमा खटाइएको छ, सो कार्यमा आवश्यक समन्वय तथा सहयोग गरिदिनु हुन उद्योग तथा बाणिज्य क्षेत्रका संघ संगठनहरु लगायत सम्बन्धित उद्योगी, ब्यवसायी एबम् आम नागरिकहरुलाई आन्तरिक राजस्व विभाग हार्दिक अनुरोध गर्दछ,’ विभागले जारी गरेको सार्बजनिक सुचनामा भनिएको छ ।

विभागले प्रत्येक बर्ष दशैं र तिहारको मुखमा यस्तो अनुगमनलाई बढी केन्द्रीत गर्ने गरेको छ । यो समयमा बजारमा बढी चहलपहल हुने र उपभोग बढी हुने भएकोले यस्तो बेलामा राजस्व छली पनि बढी हुन सक्ने भन्दै विभागले बजार अनुगमन गर्ने गरेको छ ।


क्लिकमान्डु