शुरु भो दशैँको तयारी, सरकारले पसल अनुगमन गर्ने तथा एक हजार खसी बोका र च्याङग्रा ल्याउने



काठमाडौं । चाडपर्वलाई मध्य नजर गर्दै विभिन्न सरकारी निकायहरुले दशैँका लागि छुट्टा छुट्टै तयारी शुरु गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पेट्रोल पम्प र ग्यास सिलिन्डरमा अनुगमन गर्ने तयारीमा रहेको छ ।
उपत्यका र उपत्यका बाहिर अनुगमन गर्न लागिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

चाडपर्वमा ग्याँस र पेट्रलियममा समस्या आउने र गाउँ फर्किदा उपत्यका लगायत राजमार्गका होटल तथा रेष्टुरेन्ट, मिठाई पसलमा अनियमितता हुने आशंकामा अनुगमन गर्न लागिएको गौचनले बताए ।

यस्तै, सार्वजनिक यातायातमा पनि भाडा दरका विषयमा अनुगमन गर्ने तयारीमा विभाग रहेको उनले जानकारी दिए ।
दैनिक हुने अनुगमनमा हाल विभागले मासु तथा खाद्यमा तीब्र गतिमा अनुगमन गरिरहेको उनले बताए ।

 दशैँमा ट्राफिकको सरप्राइज चेकिङ

यस्तै, ट्राफिक प्रहरीका प्रवक्ता रामकुमार लम्सालका अनुसार दशैँमा विभिन्न १२ स्थानमा हेल्प डेक्सको व्यवस्था गरिने छ । नागढुङ्गा, नयाँ बसपार्क, पुरानो बसपार्क, चाबहिल, कलंकी लगायतका विभिन्न १२ स्थानहरुमा प्रहरी हेल्प डेक्स राख्न लागिएको हो ।

ट्रफिक प्रहरी, यातायात विभाग, अनुगमन टोली लगायतका एकीकृत टोलीले लामो दुरी तथा छोटो दुरीका सवारीसाधन गुड्ने सडकहरुमा विशेष चेकजाँचको व्यवस्था समेत गर्न लागिएको लम्सालले बताए ।

‘नियमित चेकजाँच चलिरहेको छ, चाडपर्वमा मापसे गरेर सवारी चलाउने र अनियमित रुपमा जथाभावी टिकट काट्ने समस्याको समाधानका लागि सरप्राइज चेकिङको व्यवस्था गरेका छौँ, लम्सालले भने ।

टिकटमा तोकिएको भन्दा बढी भाडा लिएको पाइए वा कुनै गुनासो आए उक्त व्यक्तिलाई सार्वजनिक अपराधमा मुद्दा दायर गराइने उनले बताए ।

टिकट बुकिङ खुल्यो, टिकटको मूल्य यथावत्

यातायात व्यवस्थापन विभागले भदौ ५ गतेबाट टिकट बुकिङ सुरु भइसकेको जानकारी दिएको छ ।

विभागले विभिन्न बस स्ट्याण्डहरुबाट टिकट बुकिङ खुल्ला गरेको हो ।

केही समितिका व्यवसायीहरुले टिकट बुकिङ नखुलाएपनि अन्य अरु सवारीहरुले टिकट बुकिङ खुलाएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

विभागले ट्राफिक प्रहरीसँग मिलेर यात्रुहरुको सहजताका लागि विभिन्न बस पार्कहरुमा १४ वटा हेल्प डेक्सको व्यवस्था स्थापना गर्न लागिएको जानकारी दिए ।

‘टिकटको मूल्य बढेको छैन, रेगुलर मूल्य नै छ, एउटा गाडीमा कति जना चढ्न पाउने भन्ने कुरा भने तोकिएको छैन,’ उपाध्यायले भने ।
यस्तै, यातायात व्यवसायीहरुले भने पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको र सवारी दुर्घटनामा कसैको ज्यान गए जरिवाना सहित १० वर्ष जेल हुने प्रावधानले टिकट बुकिङ नखुलाउने बताउँदै आएका छन् ।

खाद्य संस्थानले १२ गतेदेखि सूपथ मूल्य पसल सञ्चालन गर्ने

खाद्य संस्थानले यही असोज १२ गतेदेखि सूपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । उपत्यकाका १० देखि १२ वटा स्थानमा सूपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

यस्तै संस्थानले थापाथलीमा १ हजार खसीबोका तथा १ हजार च्याङग्रा विक्रीमा राख्ने भएको छ । दशँैका लागि आयात गरिने खसीबोका तथा च्याङ्ग्राको मूल्य बजार मूल्य भन्दा १० रुपैयाँ कम हुने सापकोटाले बताए ।

संस्थानले ३ करोड ४९ लाख रुपैयाँ बराबरको खसीबोका तथा च्याङ्ग्रा आयात गर्न लागेको छ ।


क्लिकमान्डु