उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्वाचित



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् ।

समितिको आज बसेको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो । श्रीवास्तवलाई समितिको सभापतिमा विन्दा पाण्डेले प्रस्ताव र गोपालबहादुर बमले समर्थन गरेका थिए ।

समितिको बैठकको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले प्रतिनिधिसभा नियमावली १७३ को उपनियम ४ बमोजिम समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

विसं २००७ मा पर्साको वीरगञ्जमा जन्मिएका श्रीवास्तव पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय सामजवादी फोरम नेपालको तर्फबाट विजयी भएका हुन् । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनकै क्रममा उनले २०२५ सालमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए ।

पटकपटक वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भई स्थानीय जनतामाझ लोकप्रिय भएका सभापति श्रीवास्तवले बारा, पर्सा औद्योगिक करिडोरमा खुलेका उद्योगमा कार्यरत श्रमिकलाई उचित पारिश्रमिक दिलाउन उल्लेख्य योगदान गरेका थिए ।

संसद्को नियमावली निर्माणका क्रममा श्रीवास्तवले समन्वयतात्मक भूमिका खेलेको प्रस्तावक एवं समितिका सदस्य पाण्डेले बताइन् ।

यसैबीच, समितिको सभापतिमा निर्वाचित भएलगत्तै कुरा गर्दै सभापति श्रीवास्तवले वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने र सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

समितिको नेतृत्व सम्हालेलगत्तै आफूलाई प्राप्त भएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै सभापति श्रीवास्तवले उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताका हितका विषयलाई विशेष ध्यान दिने बताए । उनले भने, “चाडबाड नजिक आइसकेको छ, उपभोक्ताको हकहितका लागि तत्काल गर्नुपर्ने कामलाई अघि बढाउँछौँ । जनताको अपेक्षा तथा जनता र सरकारबीच पुलको काम गर्नेछौँ ।”


क्लिकमान्डु