सामुहिक पुष्प व्यवसाय गरी उत्पादन बढाउन प्रदेश मन्त्री लामाको आग्रह



काठमाडौं । प्रदेश नम्बर ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पुष्प खेती वृद्धि गर्न सामुहिक खेतीतर्फ गर्नु जरुरी रहेको बताएका छन् ।

उनले प्रदेश नम्बर ३ मा पुष्पको उत्पादन वृद्धि गर्न र त्यसलाई सबै प्रदेशमा पुर्याउनका लागि सामुहिक खेतीबाट अघि बढ्नु पर्नेमा जोड दिए ।

राजधानीमा आज आयोजित फ्लोरिकल्चर एशोसियशन नेपालको २६ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री लामाले यस्तो कुरामा जोड दिएका हुन् । उनले भने–नेपालमा प्रयोग हुने फूल अन्य देशबाट ल्याउनु भन्दा नेपालमै धेरै कसरी उत्पादन गर्न सकिन्छ भन्नेबारेमा सोच्नु पर्छ ।

नेपालीहरु रोजगारीका लागि कुनै देश जानु नपर्ने बताउँदै उनले हिमाल तराई पहाड सबै ठाउँ कृषिबाट नै अघि बढ्न सक्ने बताए ।

नेपालमा सामुदायिक बनको नाममा खालि रहेका जग्गाहरु कृषिका लागि प्रयोग गर्नुपर्ने र त्यसमा उत्पादन भएको जडिबुटी, कृषिका सामाग्री तथा फूलहरु जनताले प्रयोग गर्न पाउनु पर्ने मन्त्री लामाले बताए ।

हरेक खेती सामुहिक रुपमा गर्ने बानी सिस्टम बसाल्न उनले आग्रह गरे । यस्तै पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफ्लेले कृषिमा कर लगाउने सिस्टम नल्याउन आग्रह गरे । उनले कृषिमा करको व्यवस्था गर्दा किसान आफै मारमा पर्ने र त्यसले गर्दा उत्पादनमा समेत ह्रास आउने बताए ।

हाल राष्ट्रिय स्तरमा २ अर्ब रुपैयाँको हाराहारीमा र अन्तराष्ट्रिय स्तरमा अरबौँको व्यापार पुष्प व्यवसायले गरिरहेको पुष्प विकास केन्द्रका प्रमुख काफ्लेले बताए ।
४० हजार भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायबाट रोजगार पाएको उनले बताए ।

हालसम्म नेपालमा ४३ जिल्लामा लगभग १ सय ५५ हेक्टर क्षेत्रफलमा ६ अर्ब भन्दा बढिको लगानीमा पुष्प व्यवसाय फैलिएको छ । नेपालमा पनि प्रत्येक वर्ष १० देखि १५ प्रतिशतको दरले पुष्प व्यवसायमा वृद्धि भएको उनले जानकारी दिए ।

फ्लोरिकल्चर एशोसियशन नेपालका अध्यक्ष कुमार कसजुश्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममो दोश्रो सत्रमा महासचिव मीनबहादुर तामाङले बार्षि प्रतिवेदन र आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष शिवबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५\०७६ को अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । २६ औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ ।

 


क्लिकमान्डु