कृषि मन्त्री खनाल भन्छन्- किसानलाई मलको अभाव हुन दिन्न



काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले अब नेपालमा मलको अभाव नहुने बताएका छन् । उनले देशका विभिन्न जिल्लामा रासायनिक मलको अभाव भएको भन्दै तत्काल मल अभावको अभाव हटाउने बताएका हुन् ।

नेपालको समृद्धिमा कृषि क्षेत्रको भूमिका र यसका चुनौतिहरु विषयमा सञ्चार केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अब देशभर मल अभाव नहुने गरी सुधार गरिने बताएका हुन् ।

५ ठाउँमा बफर स्टेसन बनाएर ३० लाख मेट्रिकटन खाद गोदाम गरिने र अभाव सिर्जना हुन नदिने उनको तर्क रहेको छ । कार्यक्रममा उपभोक्ता अधिकारकर्मी प्रेमलाल बम्जनले किसानहरुले बाली लगाउने समयमा मल नपाउने गरेको बताएका थिए ।

जेठ, असार, साउनमा मुख्य गरी बढी मल खपत हुने र आवश्यक पर्ने हुँदा नेपालमा मलको अभावले किसान कृषि क्षेत्रमा अघि बढ्न असक्षम भएको बताए ।

मल अभावका समयमा भारतीय सीमा छेउ भएका किसानले आफ्नो प्रयोगका लागि मल साइकलमा ल्याउँदा समेत प्रहरीले रोकतोक लगाउने र काला बजारी गरेको भन्दै सजायको भागिदार बनाउने गरेको महर्जनले बताए ।

यस्तै, कन्जुमर आईका रन्जन खनालले किसानले समयमा बिउ र मल नपाउँदा प्रत्येक वर्ष समस्या खेप्नु परेको दर्शाए । उनले कालिमाटी बजारमा जस्तै अन्य क्षेत्रहरुमापनि रहेका बिचौलिया हटाउन आवश्यक रहेको औँलाए ।

हाल नेपालमा २२ वटा मल उत्पादक उद्योग रहेका छन् । यी उद्योगको उत्पादनले नपुगेपछि गत आर्थिक वर्षमा ६ अर्ब रुपैयाँको २ लाख ८० हजार मेट्रिक टन मलखाद आयात भएको थियो ।

यस्तै, सञ्चार केन्द्र नेपालका अध्यक्ष गोपाल चौलागाईँले नेपालमा कृषि क्षेत्रलाई अघि बढाउन र यसमा आत्मनिर्भर हुन पूर्वाधारको आवश्यकता रहेको बताए ।


क्लिकमान्डु