बल्झिँदै सुधीर बस्नेत काण्डः धितो लिलामीमा प्राइम बैंकले यसरी गर्यो करोडौं घोटाला
काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले ऋण नतिरेपछि प्राइम कमर्शियल बैंकको २३७औं सञ्चालक समितिको बैठकले ०७१ साल साउनमा धितो लिलामीको सूचना निकाल्ने निर्णय गर्यो ।
२०७१ असोज १० गते नियामक नेपाल राष्ट्र बैंकले प्राइम बैंकलाई प्रतिस्पर्धाका माध्यमबाट धितो लिलाम बिक्री गर्न स्वीकृति दिएको थियो । बैंकले ०७१ असोज १२ गते नागरिक दैनिक पत्रिकामा धितो लिलामीको १५ दिने सूचना निकाल्यो ।
काठमाडौं महानगरपालिका वडा नं. १ नक्सालको कित्ता नं. ७९३ र ७९९को ४ रोपनी १० आना ३ दाम क्षेत्रफल भएको जग्गा र निर्माणधीन आयोजना धितो राखेर कोहिनुर हिल हाउजिङ अन्तर्गतको इम्पेरियल अपार्टमेन्ट निर्माण गर्न घरजग्गा व्यवसायी सुधीर बस्नेतले २०६५ माघ १९ गते बैंकबाट २० करोड ६६ लाख ३७ हजार २० रुपैयाँ ऋण लिएका थिए ।
बैंकले ‘लिलाम हुने सम्पत्तिमा लिलामी सूचनामा उल्लेख गरिएका दायित्वहरु लगायत अन्य भविष्यमा कुनै प्रकारका वित्तीय वा गैरवित्तीय दावी भएमा सकार गर्ने प्रस्तावक/कम्पनीले नै व्यहोर्न मञ्जुर गर्नु पर्ने,’ शर्त राख्दै लिलामीको सूचना निकालेको थियो ।
तर, बैंकले लिलामी सूचनामा बोलपत्रमा पेश गर्नुपर्ने न्यूनतम मूल्य उल्लेख गरेको थिएन । त्यतिमात्रै होइन, कति तलासम्म बनेको, भवन कति तयार भएको भन्ने पनि लिलामी सूचनामा उल्लेख गरेको थिएन । जति रकममा बोल कबोल दिए पनि हुने, कुनै मूल्यांकन नभएको र अधुरो निर्माण भएको मात्रै सूचनामा उल्लेख थियो ।
‘आफ्नो बैंकले ३५ करोड मूल्यांकन गरेको सम्पत्तिको भविष्यमा थप वित्तीय दायित्व समेत व्यहोर्ने गरी बैंकले ६८ करोडमा स्वीकार गर्न लगाउनुबाट नै बैंकको सम्पत्ति बोलपत्रबाट खरदिकर्ता र बैंकले अनियमितता गरेको पुिष्ट हुन्छ,’ समितिको प्रदिबेदनमा भनिएको छ ।
२०७१ चैत ३ गते बैंकले बोलपत्र खोल्यो । इम्पेरियल अपार्टमेन्टस् प्रालिले ३२ करोड ३५ लाख, नुवाकोट थानापति स्थायी घर भएका केशब डंगोलले ११ करोड र काठमाडौंका बिपिन स्थापितले १० करोड रुपैयाँ बोलकबोल गरेको मुचुल्कामा उल्लेख छ ।
बोलपत्र खोलिँदा पटक २०७० असारमा प्राइम बैंकमा सूचिकृत मूल्यांकनकर्ता मल्ल लिंक प्रा.लि.को प्रतिवेदन अनुसार धितोको बजार मूल्य ३५ करोड ३८ लाख ४४ हजार तथा डिस्ट्रेस मूल्य ३० करोड ३४ लाख ५० हजार रुपैयाँ भनी मूल्यांकन भएको देखियो । जबकी त्यतिबेलाको बजार मूल्य नै करिब ९० करोड रुपैयाँ थियो ।
बस्नेतले ऋण नतिरेपछि बैंकले ११ करोड ९६ लाख ३५ हजार ६ सय ५८ रुपैयाँ ब्याज र ९० लाख ७५ हजार २ सय ३७ रुपैयाँ हर्जना ब्याज लगायो । सावाँ, ब्याज र हर्जना गरी बैंकले उक्त परियोजनाका लागि बस्नेतबाट ३३ करोड ५३ लाख ४७ हजार ९ सय १५ रुपैयाँ खराब कर्जामा परिणत गर्यो । र, उक्त रकम असूलीका लागि ०७१ चैत ३ गते धितो लिलाम गरी असूल गर्यो ।
लिलामी प्रक्रियामा जाँदा बैंकले धितोमा रहेको जग्गा र भवनको बजार मूल्य ३५ करोड ३८ लाख ४४ हजार रुपैयाँ उल्लेख गरेको थियो । बोलपत्रदाताले ३२ करोड ३५ लाख रुपैयाँमात्रै कबूल गर्यो ।
उक्त हाउजिङ बुकिङ गर्ने बुकिङकर्ताको हिसाब मिलान गर्न २७ करोड ५५ लाख ९० हजार ८ सय ३८ रुपैयाँ र त्रिपक्षीय करारको ६ वटा अपार्टमेन्टको दायित्व सकार्दा ६ करोड ९३ लाख ९० हजार ७ सय ८० रुपैयाँको दायित्व पनि बोलपत्रदाताले स्वीकार गर्यो । यी सबै गर्दा बोलपत्रदाता ६८ करोड ३ लाख ५६ हजार ५ सय ३३ रुपैयाँ सकार्यो ।
३२ करोड ३५ लाख रुपैयाँ मूल्यमा बोलकबोल पेश गरेको कम्पनीले बैंकका अन्य शर्त र रकम तिर्न स्वीकार गर्दै किन ६८ करोड ३ लाख ५६ हजार रुपैयाँमा पनि सो धितो सकार्न तयार भयो ? गौरीबहादुर कार्की संयोजकत्वको समस्याग्रस सहकारी संस्था तथा संघको व्यवस्थापन समितिले असार गत ३१ गते सरकारलाई बुझाएको प्रतिवेदन भन्छ– ‘किनकि त्यसबेला नै उक्त धितोको बजार मूल्य ९० करोड रुपैयाँ थियो । अहिले १ अर्ब २० करोड रुपैयाँ छ ।’
यसरी सकार गर्दा पनि कम्पनीलाई तत्कालीन बजार मूल्यमा २२ करोड रुपैयाँ फाइदा भएको देखिन्छ ।
नियतै खराब
बैंकले बोलपत्रमा जग्गा र अपूरो भवन मात्र उल्लेख गरेको र लिलाम गर्ने सम्पत्तिको मूल्यांकन नभएको भन्दै नियत नै खराब देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन भन्छ- ‘३२ करोड ३५ लाख रुपैयाँमा बोलपत्र राख्ने कम्पनीले त्यही अपार्टमेन्ट भित्रका ६ वटा अपार्टमेन्ट छाड्दा ६ करोड ९२ लाख र बुकिङकर्ताको २७ करोड ५५ लाख समेत व्यहोर्न तयार र मन्जुर भएपछि ६८ करोड ३ लाख रुपैयाँमा सो जग्गा र अपार्टमेन्ट भवन लिन मन्जुर गरेको देखिन आयो । आपूmले सिलबन्दी बोलपत्रमा बोलेको ३२ करोड ३५ लाख रुपैयाँ भन्दा बढी तिर्न मन्जुर भएको देखिन आयो । ६८ करोड ३ लाखमा खरिद गर्दा पनि भवन पूरा गराउँदा त्यो भन्दा बढी नै नाफा हुने भएकाले नै बोलपत्रदाताले मन्जुर गरेको देखिन आयो । धितोको मूल्यांकन सम्बन्धमा प्राइम बैंकले राष्ट्र बैंकको निर्देशन र वैंक सम्बन्धी कानूनको पालना गरेको देखिन आएन ।’
मिलेमतोमा करोडौंको खेल
बैंकको पत्र संख्या ४१९५।०६९।७० मिति २०७० असार २५ गतेको पत्रबाट राष्ट्र बैंक समक्ष उक्त अपार्टमेन्ट लिलामी गर्दा १ करोड २ लाख रुपैयाँ ब्याज मिनाहा गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
प्राइम बैंकले २०७० असार २५ गते राष्ट्र बैंक समक्ष निम्न विवरण खुलाई पत्राचार गरेको थियो ।
-बैंकको सावाँ र ब्याज गरी वाँकी २५ करोड ७२ लाख
-अग्रिम बुकिंग बापतको रकम ३१ करोड २० लाख
-सम्पूर्ण घर जग्गाको बजार मूल्य ३५ करोड ३८ लाख
-न्यून हुने रकम २१ करोड ५४ लाख
-बैंकले ब्याज मिन्हा गर्ने रकम १ करोड २ लाख
-बैंकलाई चुक्ता गर्नु पर्ने रकम २४ करोड ७१ लाख
-ग्राहकले बेहोर्नु पर्ने नोक्सानी रकम २० करोड ५३ लाख
तर लिलाम सकारको समयमा थप ब्याज ७ करोड ८१ लाख ३ हजार रुपैयाँ थप गरी २५ करोड ७२ लाख रुपैयाँ हुँदै कर्जालाई ३३ करोड ५३ लाख रुपैयाँ पुर्याइ असूल गरेको देखिएको छ । जुन राष्ट्र बैंकको वैंक तथा वित्तीय संस्था नियमन विभागको मिति २०७० असार २७ गतको पत्रको आशयको ठीक विपरीत भएको समितिको ठहर छ ।
इम्पेरियल अपार्टमेन्टस् प्रालि कम्पनीकोरुपमा दर्ता भएको (दर्ता नं.१११६४७।०६९।०७० मिति २०७० बैशाख ५ गते हो । सो कम्पनीले कोहिनुर हिल हाउजिङमा अग्रिम भुक्तानी गरेको रकम दावी नगर्ने भन्दै कम्पनीका प्रबन्ध सञ्चालकले प्राइम कमर्सियल बैंकमा मिति २०७१ चैत ५ गते पत्र लेखेका थिए ।
बैंक र बोलपत्रकर्ताको मिलेमतोमा अनियमितता
बोलकबोलकर्ता भविष्यमा आउने वित्तीय दायित्व समेत व्यहोर्न तयार हुनुबाट बैंकको कर्जा असूलीको प्रक्रिया र बोलकबोलवाला कम्पनीको व्यवहार सरासर अनियमित भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
‘बैंकले धितोको बजार मूल्य ३५ करोड ३८ लाख कायम गरेकोमा बोलपत्र दाताले पछि बैंकले राखेका शर्त सहित ६८ करोड ३ लाखमा स्वीकार गरेबाट नै अनियमितता पुष्टि भएको छ । आफ्नो बैंकले ३५ करोड मूल्यांकन गरेको सम्पत्तिको भविष्यमा थप वित्तीय दायित्व समेत व्यहोर्ने गरी बैंकले ६८ करोडमा स्वीकार गर्न लगाउनुबाट नै बैंकको सम्पत्ति बोलपत्रबाट खरदिकर्ता र बैंकले अनियमितता गरेको पुिष्ट हुन्छ,’ समितिको प्रदिबेदनमा भनिएको छ, ‘यस्तो अनियमित काम गरेकोमा राष्ट्र बैंकले के अनुगमन ग¥यो ? बैंकको ऋण असूली क्रियाकलापको जाँच पड्ताल किन भएन ?’
कार्यान्वयन भएन अदालतको फैसला
आवाससम्बन्धी जाँचबुझ आयोग-२०७१को प्रतिवेदन बमोजिम अपार्टमेन्ट बुकिङ्ग गर्ने ४५ जना बुकिङ्गकर्ताको दाबी रकम ५३ करोड २५ लाख रहेकोमा ४८ प्रतिशत बुकिङ्गकर्ताको हित र २५ करोड ७० रुपैयाँ बुकिङ्गकर्ताको रकमको कुनै सुनुवाई नभएको समितिको प्रतिबेदनमा उल्लेख छ ।
कम्पनीले भविष्यको दायित्व व्यहोर्न मंजुर गरेकोले लिलाम सकार गर्ने वा इम्पेरियल अपार्टमेण्ट लिन सकार गर्ने कम्पनीले अदालतको फैसलाबाट देखिएको १८ वटा फ्ल्याट समेत दिनुपर्ने र हालसम्म देखिएका पहिलेका बुकिङ्कर्ता र अदालतको फैसलाले फ्ल्याटहरु प्राप्त गर्नेलाई राष्ट्र बैंकले प्राइम बैंकमार्फत दिलाइनु पर्ने प्रतिवेदनको निष्कर्श छ ।
इम्पेरियल अपार्टमेन्टबारे सुधीर बस्नेतको बयान
यो अपार्टमेन्ट सम्बन्धमा ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतले तत्कालीन सहकारी जाँचबुझ आयोगमा २०७० फागुन ८ गने यस्तो प्रतिबेदनसहितको बयान दिएका थिए ।
–आयोजनाको ठेगानाः काठमाडौं जिल्ला, कामनपा वडा नं. १, नक्साल
–इकाइ संख्याः ६७
–बिक्री गरिसकेका ईकाईको संख्याः ३९
–बिक्री गर्न बाँकी ईकाईको संख्याः २८
-बुकिङकर्ताहरुबाट उठाइएको रकमः २० करोड रुपैयाँ
-बिक्री भईसकेका र बाँकी फ्ल्याट बिक्रीबाट उठने रकमः ५० करोड रुपैयाँ
-निर्माण बाँकीः ६ करोड रुपैयाँ
-बैंक बक्यौताः २४ करोड रुपैयाँ ब्याजसहित
-बचत हुन आउने रकमः २० करोड रुपैयाँ
-बाँकी काम काम २ महिनामा सम्पन्न हुने ।
-ऋणदाताः प्राइम कमर्शियल बैंक, केन्द्रीय कार्यालय, न्युरोड,
-कर्जा रकमः २० करोड रुपैयाँ ।
-दृष्टिबन्धक पारित मितिः २०६५।१०।१९ (कामनपा वडा न. १ कि.नं. ७९३ २–१४–१–३, कि.नं. ७९९
१–११–३–१ जम्मा क्षेत्रफल ४–१०–१–० जग्गा र सो मा बनेको संयुक्त आवास भवनको सम्पूर्ण लिग लिगापात ।
बैंकको लिलामी सम्बन्धी सूचनामा ५ जनाको हकमा त्रिपक्षीय करार बमोजिम हुने भनिए पनि पछि लिलाम सकार गर्ने बेलामा थप १ जना राजेन्द्रकुमार शाक्यको समेत दावीलाई त्रिपक्षीय करार निदएको छ । समितिले यसैमा शंका गर्दै भनेको छ– ‘तर करारपत्र त्रिपक्षीय नभएकोले यसमा अपचलन भएको हुनसक्ने देखिन्छ ।’
लिलाम सकारमा केही तथ्य
-धितोमा रहेको जग्गा र भवनको बजार मूल्य रु. ३५,३८,४४,०००।
-वोलपत्र दाताले कबुलेको मूल्य रु. ३२,३५,००,०००।
-बैंकको सावाँ ब्याज हर्जाना गरी असूल गर्ने रकम तल लेखिए बमोजिम हुने ।
-साँवा रु. २०,६६,३७,०२०।
-ब्याज रु. ११,९६,३५,६५८।
-पेनल ब्याज रु. ९०,७५,२३७।
-जम्मा रु. ३३,५३,४७,९१५।
१. बैंकको सावाँ ब्याज हर्जाना गरी असूल गरेको रकमः रु. ३३,५३,४७,९१५।
२. ६ वटा अपार्टमेन्ट नलिने गरी बोलपत्र दाताले सकारेको मोलः रु. ६,९२,९०७८०।
३. वोलपत्र दाताले ३२ जना बुकिङ्गकर्ताको सकारेको रकम मूल्य ः रु. २७,५५,९०,८३८।
४. बोलपत्रदाताले सकारेको तीनै शीर्षकका गरी कुल रकमः रु. ६८,०३,५६,५३३।
५. कुल रकममा बजार मूल्य घटाउँदा बोलपत्र दातालाई हुने नोक्सानीः रु. ३२,६५,१२,५३३।
६, राष्ट्र बैंकको निर्देशनमा ऋण असूली गर्दा ताजा मूल्यांकन गरेर नयाँं मूल्य कायम गरेर मात्र गर्नु पर्ने नियमनकारी निर्देशन प्राइम बैंकले पालना नगरेको ।