उद्योगमन्त्री भन्छन्ः ठूला नेता नै घुमाउने ब्यापारी मेरो अनुगमनबाट कहाँ डराउँछन्




काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले आफूले गरेको बजार अनुगमनबाट ब्यापारी डराए भन्ने तर्क आधारहिन भएको बताएका छन् ।

ब्यापारीले ठूला नेतालाई घुमाउने गरेकोले आफूजस्तो मन्त्रीले गरेको अनुगमनबाट ब्यापारी डराएर लगानी नआएको भन्ने तर्क सही नभएको उनको भनाइ छ ।

‘मन्त्रीले गरेको बजार अनुगमनले ब्यापारी डराए, त्यसैले लगानी आएन भन्ने गुनासो सुन्ने गरेको छु, मिडियामा पनि त्यसै प्रकारले समाचारहरु आउने गरेका छन्, म जस्तो मन्त्रीले गरेको अनुगमनले ब्यापारी डराउँदैनन्, उनीहरु त देशका ठूला नेताहरुलाई घुमाउँछन्, म के हूँ र ?’ बेलायती सहयोग संस्था युके एडको सहयोगमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले द्धीपक्षीय लगानी सम्झौताको बिषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री यादबले भने ।

उनले नेपालमा ब्यापारी धेरै भएकोले विदेशी लगानी नआएको पनि बताए ।

‘यहाँ उद्योगीभन्दा ब्यापारी धेरै छन्, ब्यापारीले ब्यापार गरेर टन्न नाफा गरिरहेका छन्, उद्योगीले लगानी गर्छुभन्दा हुदैन भन्दै ब्यापारीले नै भाजो हालिरहेका छन्,’ मन्त्री यादबले भने ।

उनले द्धीपक्षीय लगानी हित संरक्षण समन्धी सम्झौता विप्पा गर्नु नै देशहित प्रतिकूल नहुने पनि बताए । विगतमा विप्पासँग कम्युनिष्टहरु बढी नै डराउने गरेको भन्दै उनले त्यो धारणा सही नभएको अनूभूति भएको सुनाए । तर, विप्पा गर्दा देशहितलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ ।

यस्तै उनले गुणस्तरहिन बस्तु उत्पादन र विक्री गर्ने उद्योगी ब्यापारीलाई गरिने कारबाहीको विषयमा पनि फरक धारणा राखे ।

‘कुनै गुणस्तरहिन बस्तुको उपभोगबाट कसैको ज्यान गयो भने पनि यो त आर्थिक कारण हो, आर्थिक जरिवाना हुनुपर्छ भनेर ब्यापारीहरुले भनिरहेका छन्, राज्यले पनि त्यस्तै ब्यहार गरिरहेको छ, तर कसैले चोर्नु वा लुटपिट गर्नुपनि त आर्थिक कारण नै होला नि, चोर्ने र लुटपिट गर्नेलाई राज्यले जेल हाल्ने गरेको छ भने गुणस्तरहिन बस्तुको उपभोगबाट कसैको ज्यान गयो भने त्यस्ता बस्तु उत्पादन र विक्री गर्ने ब्यापारीलाई जेल हाल्न मिल्ने कि नमिल्ने ?’ मन्त्री यादबले प्रश्न गरे ।


क्लिकमान्डु