सहकारी मन्त्री अर्याल भन्छिन्– सबै पालिकामा सहकारी संस्था खुल्नु पर्छ



काठमाडौं । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अबको ५ वर्षमा सहकारीको कूल गार्हस्थ उत्पादन १० प्रतिशत पुर्याउने बताएकी छिन् ।

नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को ८औँ वार्षिक साधारण सभा तथा स्थापना दिवस कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन् ।

हाल नेपालमा सहकारीको कूल गार्हस्थ उत्पादनको ४.५ प्रतिशत रहेको छ । उनले भनिन्–‘अबको ५ वर्ष भित्र सहकारीको कूल गार्हस्थ उत्पादन १० प्रतिशत पुर्याउने लक्ष्य राखेका छौँ ।’

धेरै सहकारी बनाउने भन्दा देशका सबै पालिकामा सहकारी बनाउनु पर्नेमा उनले जोड दिइन् । साथै क्षेत्र विस्तारपनि त्यही ढंगले गर्ने उनको भनाई थियो ।

मन्त्री अर्यालले मापदण्ड निधारण गरेर सहकारीको क्षेत्र विस्तार गर्नुपर्ने आवश्यक्ता रहेको बताइन् । यस्तै उनले गरिबी निवारणको मेरुदण्ड सहकारीलाई बनाउनु पर्ने बताइन् ।

सहकारी संस्थाहरुले राष्ट्रिय उत्पादनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै उनले हरेक स्थानीय तहमा सहकारी पुर्याउनु पर्नेमा जोड दिइन् ।

मन्त्री अर्यालले सहकारीलाई अघि बढाउने कुरामा ऐन, कानून बाधक भए त्योपनि समाधान गरिने प्रतिवद्धता जनाइन् ।

उत्पादन, कृषि र उद्योगमा सहकारीलाई सहभागिता गराउँदै लाने र त्यसभित्रै रोजगारीको ढोका खोल्ने मन्त्री अर्यालले बताइन् ।

उनले सहकारी मार्फत विभिन्न पाइलट कार्यक्रमहरु सञ्चालन गर्ने सरकारको योजना रहेको बताइन् ।

सहकारीको माध्यबाट समृद्धी ल्याउनका लागि तराई, पहाड र हिमालमा गर्न सकिने विभिन्न पाइलट कार्यक्रमको योजना बनाइरहेको सुनाइन् ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक डीबी बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

सोही कार्यक्रममा सहकारी पत्रकार समाजद्वारा प्रकाशित सहकारिता नामक स्मारिका पनि बिमोचन गरिएको थियो । कार्यक्रममा सहसचिव अर्जुन खतिवडाले वार्षिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु