चालु आर्थिक वर्षको पहिलो महिना मै १ खर्बको व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्षको पहिला महिना मै नेपालले १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागको तथ्याङ्कका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा १ खर्ब २० अर्ब ६१ करोड बराबरको सामाग्री आयात भएको छ । यो आर्थिक वर्षको पहिलो महिना साउनमा गत वर्षको साउनको भन्दा उच्च दरले आयात बढेको भन्सार विभागले जानकारी दिएको छ ।

गत वर्ष साउनमा ७६ अर्ब ७३ करोड ६० लाख ७३ हजार रुपैयाँको सामाग्री आयात भएको थियो । यो आर्थिक वर्षको साउनमा १ खर्ब २० अर्ब ६१ करोड १ लाख ५३ हजार रुपैयाँको सामाग्री आयात भएको छ ।

यस्तै, यो वर्षको महिनामा ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँको सामाग्री निर्यात भएको छ । गत वर्ष यही महिनामा ६ अर्ब ७० करोड ७७ लाख रुपैयाँका सामाग्री निर्यात भएको थियो ।

यो वर्षको साउन महिनामा बाढी तथा डुबानका कारण तराईका जिल्लाहरुमा रहेका केही भन्सार विन्दुहरुमा आयात–निर्यात प्रभावित भएको भन्सार विभागले बताएको छ ।

यो वर्ष पहिलो महिना औषतमा करिब १ सय अर्ब आयात हुँदा साउन महिनामा जम्मा ७६ अर्बको आयात भएको थियो । जसले गर्दा यो महिनाको आयातको वृद्धि समग्रमा उच्च देखिएको भन्सार विभागले जानकारी दिएको छ ।

गतवर्ष साउन महिनामा हवाई जहाज तथा पाटपूर्जा १ अर्ब ४४ करोड रुपैयाँको आयात भएको थियो । यो वर्ष साउन महिनामा १३ अर्ब ३० करोड रुपैयाँको हवाई पाटपुर्जा आयात भएको विभागले जानकारी दिएको छ ।

यस्तै गत वर्षको साउन महिनामा सबै प्रकारका पेट्रोलियम इन्धन ९ अर्ब ६९ करोडको मात्रा आयात भएकोमा उक्त वस्तुको आयात यो वर्षको साउन महिनामा ८७ प्रतिशतले बढेर १८ अर्ब १० करोड रुपैयाँको आयात भएको हो ।

साउन महिनामा फलाम तथा स्टील वस्तुहरुको आयात गत वर्ष साउन महिनाको तुलनामा ६९ प्रतिशतले बढेको छ ।

यो साउन महिनामा फलाम तथा स्टील १४ अर्ब ६२ करोड रुपैयाँको आयात भएको छ भने गत वर्षको साउनमा ८ अर्ब ६३ करोड रुपैयाँको आयात भएको थियो ।

यसरी केही वस्तुको आयात उच्च हुन जाँदा यो महिना आयात ३२ प्रतिशतले वृद्धि हुन आएको विभागले जानकारी दिएको छ ।

यो महिना फलाम, स्टील, पेट्रोलियम पदार्थ र हवाई पाटपूर्जा आयात अघिल्लो महिनाको भन्दा बढी भएकाले आयात उच्च देखिएको भन्सार विभागको भनाई छ । यस महिना ७५ अर्ब रुपैयाँको फलाम, स्टील, पेट्रोलियम पदार्थ र हवाई पाटपूर्जा आयात भएको विभागले जानकारी दिएको छ ।

गत वर्षको साउनमा ५७ अर्ब रुपैयाँको फलाम, स्टील, पेट्रोलियम पदार्थ र हवाइ पाटपुर्जा आयात भएका थिए ।


क्लिकमान्डु