ज्योति विकास बैंकले पायो हाम्रो विकास बैंक किन्न सहमति




काठमाडौं । नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकलाई हाम्रो विकास बैंक प्राप्ति (अक्वायर) गर्न सहमति दिएको छ ।

गत मंगलबार बसेको राष्ट्र बैंक संचालक समितिले ज्योति विकास बैंकलाई हाम्रो विकास बैंक प्राप्ति गर्ने सहमति दिने निर्णय गरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

ज्योति विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । हाम्रो विकास बैंक नुवाकोटमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको विकास बैंक हो ।

अहिले राष्ट्रियस्तरका विकास बैंकको चुक्ता पुँजी कम्तिमा पनि २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने राष्ट्र बैंकले बनाएको नियम छ । हाम्रो विकास बैंकलाई प्राप्ति गर्नुअघि नै ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ छ ।

यस्तै हाम्रो विकास बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रुपैयाँ छ ।

अहिले ज्योतिसँग साढे २० अर्ब रुपैयाँ निक्षेप छ भने हाम्रो विकास बैंकसँग पौने २ अर्ब रुपैयाँ निक्षेप छ ।

यस्तै कर्जामा ज्योतिले करिब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने हाम्रो विकास बैंकले १ अर्ब ६० करोड रुपैयाँ जति कर्जा तथा लगानी गरेको छ ।

ज्योतिले हाम्रो विकास बैंक किन्ने सम्झौता भइसकेपनि कति मूल्यमा किन्ने भन्ने तय भएको छैन । सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गरेपछि तय हुने दरमा नै हाम्रो विकास बैंक प्राप्ति गर्ने सम्झौता भएको ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए ।


क्लिकमान्डु