ब्याज बढी भयो भन्ने ब्यवसायीलाई गभर्नरको जवाफः बैंक तपाइहरुकै, ऋणी तपाइहरु नै, म के भनूँ




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले ब्यवसायीहरुले दोहोरो भूमिकामा रहेर ब्यवहार गर्दा समस्या भएको बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाजको संयुक्त आयोजनामा इकोटक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले यस्तो बताएका हुन् ।

गभर्नर डा. नेपालले सम्बोधन गर्नुअघि महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । श्रेष्ठले बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जाको ब्याज बढी भएकोले उद्योग ब्यवसाय गर्न समस्या भएको बताएका थिए ।

‘उद्योगी ब्यवसायीले बैंकबाट ऋण लिएर लगानी गर्ने हो, ब्याजदर महंगो हुदाँ ब्यवसाय गर्न नै कठिन भइसकेको छ, उद्योग ब्यवसाय बाच्यो भने त बैंकहरुले बाच्ने होलान नि,’ श्रेष्ठले कार्यपत्र पेश गर्दै भने ।

उपाध्यक्ष श्रेष्ठको यही भनाइको जवाफमा गभर्नर डा. नेपालले त्यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘बैंकमा लगानी पनि तपाइहरुकै छ, उद्योग ब्यवसाय पनि तपाइहरुकै छ, बैंकबाट ऋण लिएर लगानी गर्ने पनि तपाइहरु नै हो, बढी ब्याज लिएर बैंकले धेरै नाफा कमाउदा त्यसको हिस्सा तपाइहरुले पनि पाउनु भएकै छ, यसमा मैले धेरै के भनूँ र,’ गभर्नर डा. नेपालले भने ।

उद्योगी ब्यवसायीले बैंकको ब्याज बढी भएको भन्दै विभिन्न समयमा आवाज उठाउने गरेका छन् । गभर्नर डा. नेपालले बैंकबाट कति नाफा खाने भन्ने विषयमा बैंकका लगानीकर्ता आफै सजग हुनुपर्ने पनि बताए ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुले बढी ब्याज तोकेर बढी नाफा नगरेको दाबी गरे ।

‘बैंकले ब्याज बढाएर बढी नाफा कमाए भन्ने आरोप लाग्दै आएको छ, लगानीको आधारमा औषत करिब १८ प्रतिशत मात्रै नाफा छ, यो भनेको धेरै होइन, त्यसैले बैंकलाई आरोप लगाउनु उपयुक्त छैन,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष ढुंगानाले भने ।

बैंकर्स एसोसिएसनले समय समयमा ब्याजदरलाई निश्चित सीमामा राख्न गरेको भद्र सहमतिको आलोचनाप्रति पनि ढुंगानाले असहमति जनाए ।

‘हामीले निक्षेपको ब्याजदरलाई एउटा सीमामा राख्न गरेको सहमतिलाई लिएर पनि विभिन्न टिकाटिप्पणी हुने गरेको छ, निक्षेप ब्याजदरलाई एउटा सीमामा राखेपछि कर्जाको ब्याज पनि स्वतः एउटा सीमाभित्र रहन्छ, यसलाई खुल्ला छोड्ने हो भने अहिलेको भन्दा निकै बढी ब्याज तिर्नुपर्ने अबस्था आउन पनि सक्छ,’ उनले भने ।

बैंकर्स एसोसिएसनले भद्र सहमति गरेर ब्याजदर नियन्त्रणमा राखेका कारण उद्योग ब्यवसायमा ऋण लिएर लगानी गर्न सक्ने अबस्था भएको उनको भनाइ छ ।


क्लिकमान्डु