उप्रेती भारतका लागि राजदूत शिफारिस



काठमाण्डौ । सोमबार बसेको मन्त्री परिषदको बैठकले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । उप्रेती निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त हुन् । दीपकुमार उपाध्यायले राजीनामा दिएपछि दिल्लीस्थित नेपाली दूतावास राजदूतविहीन छ ।

राजदूतबाट राजीनामा दिएर निर्वाचनमा उठेका उपाध्याय पराजित भएका थिए । सोमबारको मन्त्री परिषद बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संयुक्त अरब इमिरेटसका राजदूत रहिसकेका पाण्डेलाई मलेसियाको राजदूतमा सिफारिस गरिएको हो ।

राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि भने सरकारले छनौट गर्न सकेको छैन । सरकारले परराष्ट्र सचिव शंकर बैरागीलाई राष्ट्रसंघको स्थायी प्रतिनिधिको रुपमा पठाउन चाहेको थियो । तर, बैरागीले आफु उक्त पदमा नजाने बताएपछि सरकारले कुनै निर्णय गर्न सकेन ।

सरकारले हालै मात्र स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले फिर्ता बोलाउने निर्णय गरेको थियो ।


क्लिकमान्डु