दक्षिण कोरियाली नागरिक, जसले देश बचाउन सून दान दिए



162470992

काठमाण्डौ । सन् २०१८ मे महिनाको अन्तिम साता पूरा विश्व उत्तर कोरिया र दक्षिण कोरियाका दुई नेताबिच हुने भेटघाटका लागि पर्खिरहेको थियो । यही समयमा कोरियन पप गायन समूहले भने अर्को इतिहास रचेको थियो ।

मे अन्तिम साता दक्षिण कोरियाको पप गीत गाउने समूह बीटीएसको म्युजिक एल्बम अमेरिकन पपुलारिटी चार्टमा पहिलो नम्बरमा थियो ।

गएका १२ वर्षमा पहिलोपटक कुनै विदेशी भाषाको गीत अमेरिकन संगीतमा राज गर्दै थियो । कुटनीतिक व्यस्तताका वावजुद दक्षिण कोरियाका राष्ट्रपति मूनले बीटीएस समूहलाई उसको सफलताको लागि बधाई दिनपनि भ्याए ।

दक्षिण कोरियाले प्राप्त गरेको सफलताको यो एक मात्रै मापक भने होइन । यही दशकको सुरुवाति वर्षमा सार्वजनिक भएको कोरियान गीत गंमनम स्टाईलले पनि युट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियोको इतिहास बनाएको थियो ।

दक्षिण कोरिया आफ्ना गीतका कारण मात्रै परिचित छैन् ।

सन् १९४८ मा स्वतन्त्र भएको दक्षिण कोरिया १९५३ सम्म उत्तर कोरियासँगको युद्धमा थियो । लामो समय युद्ध र गरिबीको मार खेपेको दक्षिण कोरियाले छोटो समयमा लोभलाग्दो विकास र प्रगति गरेको छ ।

आज दक्षिण कोरिया कयौँ क्षेत्रमा पश्चिमा देशसंग प्रतिस्पर्धा गर्न सक्छ । प्रविधिको क्षेत्रमा दक्षिण कोरिया उत्तिकै अब्बल छ । जहाज र कम्प्युटर चिप्स निर्माणमा दक्षिण कोरिया अग्रस्थानमा छ । मोबाईल फोन निर्माणको क्षेत्रमापनि कोरिया दोस्रो स्थानमा छ । यस बाहेक कार निर्माणमा कोरिया पाँचौ स्थानमा छ ।

दक्षिण कोरियाको अर्थव्यवस्था निर्यातमा आधारित अर्थव्यवस्था हो ।

यहाँका कम्पनी कार, मोबाईल फोन र कम्प्युटर चिप्सहरु निर्यात गर्ने गर्छन् । विश्वभर हुने निर्यातको तथ्याङ्कमा दक्षिण कोरिया सातौँ स्थानमा छ ।

करिब पाँच करोड जनसंख्या रहेको दक्षिण कोरिया सन् १९५४ सम्म जापानको उपनिवेश थियो । स्वतन्त्रतापछि पनि कोरियाले निकै संकटको सामना गर्नुपरेको थियो । यहाँ अझैपनि प्राकृतिक स्रोत र सधानको निकै कमि छ ।

सन् १९६० को दशकमा दक्षिण कोरियाको ७२ प्रतिशत जनसंख्या गाउँमा बसोबास गर्ने गथ्र्यो । यतिखेर कोरियाको अर्थव्यवस्था कृषिमा निर्भर थियो ।

बीबीसीका अनुसार कोरियाको अदभुत विकासको पछाडि कोरियन नागरिकको काम प्रतिको लगाव हो ।

कोरियन नागरिक अझैपनि दैनिक १२ देखि १४ घण्टा न्यूनतम काम गर्ने गर्छन् । राष्ट्रिय लक्ष्य हासिल गर्नको लागि कोरियन नागरिक दैनिक १८ घण्टासम्म काम गर्न सक्छन् ।

दक्षिण कोरियाले आफ्नो विकासको पहिलो पाईला चाल्दा कोरियाले अन्य देशको विकास मोडलको कपि गरिरहेको थियो । कुनै समय कोरियन नीति निर्माता यो कपि क्याट शैलीलाई लिएर निकै चिन्तित थिए ।

अरुको विकास मोडलले विकास गर्न नसकिने देखिएपछि कोरियाले आफ्नो कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत हिस्सा रिसर्च डेभलपमेन्टमा खर्च गरेको थियो ।

दक्षिण कोरियाका सामसुङ, हुन्डाई, एलजी जस्ता ब्राण्डले विश्वभर आफुलाई अब्बल बनाउनुमा दक्षिण कोरियाली नागरिकको अथक परिश्रम रहेको छ । उनीहरु आफुले तय गरेको लक्ष्य प्राप्तीका लागि कुनै सम्झौता गर्दैनन् ।

२० औँ शताब्दीको अन्तिम दशकमा दक्षिण कोरियाले आर्थिक विकासमा लामो छलाङ मारिसकेको थियो । तर सन् १९९७ को आर्थिक मन्दीले उसको आर्थिक विकासमा ठूलो असर गरेको थियो ।

विदेशी लगानीकर्ताले कोरियामा लगानी गरेको १८ अर्ब अमेरीकी डलर फिर्ता लिएका थिए । आर्थिक मन्दीका कारण कोरियामा लाखौँ मानिस बेरोजगार भएका थिए ।

आर्थिक मन्दीबाट जोगिन दक्षिण कोरियाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगपनि सहयोग मागेको थियो । सन् १९९७ मा कोरियाले मुद्रा कोषसँग ५८ अर्ब अमेरीकी डलर शशर्त ऋण लिएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणमा डुबेको देशलाई जोगाउन दक्षिण कोरियन नागरिक आफैले सहयोग गरेका थिए । अर्कोतर्फ सामसुङले कोरियन नागरिकबाट सून संकलन गर्न सुरु गरेको थियो ।

कोरियाका करिब ३५ लाख मानिसले आफ्नो घरमा भएको सून देशको नाममा दिएका थिए । यसरी कोरियामा २ सय २७ मेट्रिक टन सून जम्मा भएको थियो । कोरियन नागरिकले आफ्नो बिहेको औँठी समेत सरकारलाई दिएका थिए ।

दक्षिण कोरियाको यो प्रयासले सुनको मूल्यमा भारी गिरावट आएको थियो । कोरियामा संकलन भएको सूनको मूल्य २.२ अर्ब अमेरिकी डलर थियो । यो रकम कोरियाको ऋण चुक्ता गर्न पर्याप्त थिएन । तरपनि दक्षिण कोरियन नागरिकको यो प्रयास र देश प्रतिको विश्वासलाई लिएर विश्वभर प्रशंसा गरिएको थियो ।

दक्षिण कोरियाले सन् २००१ मा मुद्रा कोषको रकम चुक्ता गर्यो ।

यसपछि दक्षिण कोरिायले व्यापारको नयाँ वातावरण सिर्जना गर्यो । विश्व बैंकको सन् २०१८ को रिर्पोट अनुसार सहज व्यापार नीतिका लागि कोरिया चौथो देश हो । यो सूचिमा अमेरिका छैटौं स्थानमा रहेको छ ।

द्रुत गतिको इन्टरनेट, सबैभन्दा धेरै स्मार्टफोन प्रयोगकर्ता भएको कोरिया प्रविधिको क्षेत्रमा सबैभन्दा धेरै पेटेन्ट राईट भएको देशपनि हो ।

दक्षिण कोरियालाई प्लास्टिक सर्जरीको राजधानी पनि भनिन्छ ।

कोरिया आर्थिक विकाससँगसँगै विश्वभर आफ्नो प्रभुत्वपनि विस्तार गर्न चाहान्छ । कोरियाले सन् १९९८ मा ओलम्पिक पनि अयोजना गरेको थियो । सन् २००२ मा जापानसँग मिलेर फिफा विश्वकप पनि आयोजना गरेको थियो । सन् २०१० मा एशियामा जी–२० सम्मलेन आयोजना गर्ने पहिलो देशपनि कोरिया हो ।

दक्षिण कोरिया एक दशक पहिले नै ट्रिलियन डलर अर्थ व्यवस्थामा प्रवेश गरिसकेको छ ।­­

(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु