नेपालमा कम्युनिष्टलाई कमजोर पार्ने षड्यन्त्र भो: प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन् ।

शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको बताए ।

सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उनले भने, “इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।”

विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको पनि उनले बताए । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो ।

अर्को एक प्रसंगमा उहाँले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताए । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पु¥याउने अध्यक्ष दाहालले बताए । रासस


क्लिकमान्डु