बजेट मार्फत ललितपुर महानगरले यस्तो ब्यवस्था गर्दैछ करमा



काठमाडौं । देशभर ५ महानगरले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसक्दा पनि ललितपुर महानगरपालिकाले भने अझै बजेट सार्वजनिक गरेको छैन । राजधानीमा दुई वटा र राजधानी बाहिर ४ वटा गरी देशमा ६ वटा  महानगरपालिका छन् ।

देशभरका स्थानीय तहले यसअघि नै आफ्नो बजेट सार्वजनिक गरिसकेका छन् । तर, ललितपुर महानगरपालिकाले धेरै ढिलो गरी यही असार २५ गते बजेट सर्वजनिक गर्ने तयारी गरेको छ । महानगरकी उपमेयर गीता सत्यालका अनुसार महानगरको आगामी बजेटमा ८० प्रतिशत पुँजीगत खर्च राखिएको छ ।

देशभरका स्थानीय निकाय र संघीय सरकारले सार्वजनिक गरेको बजेटमा पनि कर बढाएको छ । तर, ललितपुर महानगरले भने कर भन्दा करको दायरा बढाएको बताएको छ । यो बर्षलाई कर बर्षको रुपमा मनाएको ललितपुर महानगरले कर बढाउनु भन्दा करको दायरा बढाएर सबैलाई करको दायरामा ल्याउने उपमेयर सत्यालले जानकारी दिईन् ।

यस बाहेक ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गत वर्षको निर्वाचन अभियानमा ललितपुरमा मोनो रेल चलाउने बताएका भएपनि महानगरले यो वर्ष मोनो रेलका लागि भने बजेट विनियोजन गर्ने योजना बनाएको छैन ।

मोनो रेललाई महानगरले गौरबका आयोजना भने बनाउने बताएको छ । तर, बिज्ञहरुले भने उपत्यकाका लागि मोनो रेल उपयुक्त नहुने बताइउँदै आएका छन् ।

ललितपुर महानगरले ललितपुरलाई हरित सहर बनाउने अभियान आगामी वर्षपनि कायम राख्ने बताएको छ । हरित सहरका लागि आगामी आर्थिक वर्षको बजेटमा समेत रकम विनियोजन गरिने उपमेयर सत्यालले बताइन् ।

ललितपुर महानगरले महानगर कार्यापालिकामा असार १० गते नै बजेट शिलिङ तयार पारेर छलफलका लागि पेश गरेको थियो । महानगरले ४ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको बताईएको छ ।


क्लिकमान्डु