सडक आयोजना र ठेकेदारको बीचको विवादले पहिरो पन्छाउन ढिलाई



 

चितवन । पहिरो पन्छाएको रकम नपाएको भन्दै ठेकेदारले काम नगरेपछि आज बिहान टोपे खोलामा खसेको पहिरो पन्छाउन ढिलाइ भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको तेस्रो भागको ठेक्का लिएको सुप्रिम रौताहा जेभिले यसअघि खसेका पहिरो पन्छाएको तीन करोड ५० लाख रुपैयाँ भन्दा बढी पैसा नपाएको भन्दै पहिरो पन्छाउन अटेर गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार बिहान ठेकेदारले पैसा नपाएको भन्दै शुरुमा पहिरो पन्छाउन नमाने पछि पहिरो पन्छाउन ढिलाइ भएको हो । बिहान ५ः३० बजे खसेको पहिरो ८ः३० बजेदेखि मात्र पन्छाउन थालिएको थियो ।

शुरुमा एउटा एक्साभेटरले एकापट्टिबाट मात्र पहिरो पन्छाउन शुरु गरे पनि पछि आयोजनाको दबाबसँगै ठेकेदार कम्पनीले थप एक एक्साभेटर र एक लोडर प्रयोग गरेर पहिरो पन्छाइरहेको आयोजनाले जनाएको छ । बिसुरालले ठेकेदार कम्पनीले पेस गरेको कागजपत्र नमिलेका कारण भुक्तानीमा ढिलाइ भएको भन्दै कामको भुक्तानी हुने बताउनुभयो ।

यस वर्षकै सबैभन्दा ठूलो पहिरो आज टोपेखोलामा खसेको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार पहिरोले सडकको ३० मिटर भाग पूरै ढाकेर नदीसम्म खसेको छ ।रासस


क्लिकमान्डु