घरजग्गा मेलामा घर र अपार्टमेन्टको मूल्य महंगो भएको अवलोकनकर्ताको गुनासो



काठमाडौं । उपत्यकामा चलिरहेको घरजग्गा मेलामा भएको घर महंगो भएको अवलोकनकर्ताको भनाइ रहेको छ ।

अवलोकनका लागि आएका मानिसहरुको जिज्ञासा बुझ्ने सोचमा हामीले मेलामा आएका केही मानिसहरुसँग कुराकानी गरेका थियौ ।

मेलामा सस्तो घर पाउने आसमा आएका कल्यान मान्नधरले मेलामा राखिएको घरको मूल्य महंगो भएको बताए ।

‘यहाँ सस्तो पायो भने लिनेकी भनेर आएको, सोचेभन्दा महंगो रहेछ, यहाँको एउटै घरको मूल्यले २ वटा घर बन्छ,’ मानन्धरले भने ।

सस्तो घर जग्गा खोज्दै घरजग्गा मेलामा आएका सिद्धिलाल महर्जनले घर र अपार्टमेन्टको मूल्य २० प्रतिशत बढी मूल्य भएको बताए ।

‘घर बनाउने की भनेर किन्दा सस्तो हुन्छ की बनाउँदा सस्तो भनेर हेर्न आएको, तर हामी जस्तो मध्यम वर्गका मानिसहरुको लागि यो मेला कुनै उपयोगी लागेन, सबै हुनेखाने उच्च वर्गका मानिसहरुको लागि भनेर मात्र मूल्य राखिएको रहेछ,’ महर्जनले भने ।

बुढानिलकण्ठदेखि घरजग्गामेलामा घर बनाउने सामाग्रीको बारेमा बुझ्न आएकी जमुना लिम्बुलाई भने यहाँका सामाग्रीको मूल्य चित्त बुझेको छ ।

‘पछि घर बनाउँदा सामानहरु चाहिन सक्छ भनेर आएको, अब यही रहेका सामानहरु हेरेर घर बनाउने सामान किन्ने सोचमा छु,’ लिम्बुले भनिन् ।

आफ्नो घर बनाउदा आवश्यक पर्ने सामाग्रीको बारेमा मूल्य बुझनका लागी नयाँबजारबाट घरजग्गा मेलामा आएका असोक महर्जनले मेला फलदायी भएको बताए ।
‘घर बनाउने सोचमा थिए, केकस्तो सामाग्रीको कति मूल्य पर्छ बुझन भनेर आको, इन्टेरियरको सामान यही रहेका कम्पनीहरुलाई सम्पर्क गरेर घर बनाउने सोचमा छु,’ महर्जनले भने ।

विशेष गरेर नयाँ घर बनाउन कस्तो प्रविधि आएको त्यसको लागि हेर्न आएका गोबिन्द गिरीले मेलामा रहेको घरहरु महंगो भएको बताए ।

‘घरहरुको मूल्य छ तर, त्यसमा अलि महंगो भएको जस्तो लाग्यो, नत्र यस्तो कार्यक्रम हुनु राम्रो हो, एकै ठाउँमा धेरै सामाग्रीको बारेमा जानकारी पाउनु राम्रो हो,’ गिरीले भने ।

नेपाल जग्गा तथा आवाश विकास संघले आयोजना गरेको घरजग्गा मेला जेठ १ गतेबाट सुरु भएको हो । मेलामा १ सय २० वटा भन्दा बढी स्टलहरु राखिएको छ । मेलामा ६० हजार बढी मानिसहरुले अवलोकन गर्न आउने अनुमान गरिएको थियो । मेला जेठ ५ गतेसम्म चल्ने छ ।


क्लिकमान्डु