जग्गाको उपयोग अनुसार बर्गिकरण आवश्यक छ: कृषिमन्त्री खनाल



फाइल फोटो

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले औद्योगिक जमिन तत्काल तोक्नु पर्ने बताएका छन् । उनले कृषियोग्य जमिनलाई खण्डिकरण हुन नदिने बताउँदै औँद्योगिक जमिन तत्काल तोक्न आवश्यक रहेको औँलाएका हुन् ।

हाउजिङ समिट २०१८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि योग्य जमिन बचाउनु पर्ने र देशमा अव्यवस्थित बसोबास भएकै कारण यसलाई व्यवस्थित बनाउन पनि आवश्यक रहेको बताए । ‘काठमाडौैं सहर हैन सार्वजनिक स्थल जस्तो भएको छ, सहर व्यवस्थापनका लागि कृषि योग्य जमिन र औँद्योगिक जमिन छुटाउन आवश्यक रहेको छ, त्यसका लागि हामी प्रदेश, केन्द्र र स्थानीय सरकारसँग मिलेर काम गर्नेछौँ,’ मन्त्री खनालले भने ।

जग्गा नाप्नका लागि उचित प्राविधिक सामाग्री नभएकोले त्यसको पनि सही व्यवस्था गर्न आवश्यक रहेको उनले बताए । ‘अब १÷२ वर्षका लागि हैन ५० वर्ष सम्मको सोच राखेर विकासका कार्य अघि बढाउन आवश्यक रहेको छ, सडक कम्तिमा पनि २० वर्ष टिक्ने बन्नु पर्छ,’ मन्त्री खनालले भने । यसो गरियो भने मात्र ग्रामीण सहर र बसोबासका लागि उचित सहरको व्यवस्था गर्न सकिने उनले बताए ।

सोही कार्यक्रममा ‘नेपालमा काठमाडौं जस्तो जमिन र यहाँ निर्माण गर्नु पर्ने मोडलको सहि पहिचान हुन आवश्यक छ,’ मन्त्री खनालले भने । जमिन व्यवस्थापन गर्न नसक्ने राज्यले देश विकास गर्न नसक्ने बताउँदै उनले राज्यले कसैलाई मर्का नपर्ने गरी काम गर्नु पर्ने बताए ।

उपत्यका विकास प्राधिकरणका अध्यक्ष अध्यक्ष भाइकाजी तिवारीले ४/६ आना कित्ताकाट गर्न नपाइने व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको बताए । उनले अंशबण्डाको नाममा अनेक जमिनहरु टुक्रिरहेको बताए । हामीले कसरी गुणस्तरीय घर बनाउन सक्छौँ भन्ने कुरामा पनि ध्यान दिन आवश्यक रहेको उनले बताए ।


क्लिकमान्डु