बैंकमा राखेको पैसाको बढी ब्याज आओस् भन्ने चाहनुहुन्छ ? त्यसोभए यसो गर्नुस्




काठमाडौं । आफ्नो सम्पत्तिले बढी कमाइ गरोस् भन्ने चाहना कसलाई पो हुदैन र । धन देखेपछि महादेवका त तीन नेत्र खुल्छन् भन्छन्, हामी त झन् आजको वैश्य युगका मानिस् । बढी धन कमाउने मोह हामी सबैलाई हुन्छ नै ।

तोरीमा भएको तेल त्यसै खस्दैन वा भाग्य छ भन्दैमा ढोकोमा दोहेर दुध अडिदैन भन्ने हामीले सुन्दै आएको भनाइ हो । त्यसकारण प्राप्त अवसरलाई आफू अनुकुल बनाएपछि मात्रै त्यसबाट फाइदा लिन सकिन्छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरु निक्षेप लिन प्रतिस्पर्धा गरिरहेका छन् । आज एउटा बैंकले एउटा दरको ब्याज दिन्छु भनेर निक्षेप योजना सार्बजनिक गर्यो भने त्यसको भोलिपल्ट नै अर्काे बैंकले त्यसमा केही बढाएर ब्याज दिने योजना सार्बजनिक गर्छ ।

बैंक तथा वित्तीय संस्थाहरु निक्षेपमा दिने ब्याजमा प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो प्रतिस्पर्धाले लगानीको वातावरण नै विगारेको भन्दै उद्योगी ब्यवसायी चिन्ता जनाइरहेका छन् । तर तपाइ बैंकमा पैसा राखेर आफ्नो जिबीका चलाउँदै हुनुहुन्छ भने आफ्नो सम्पत्तिले बढी कमाउने यो सुनौलो मौका हो ।

केही दिन अगाडि मात्रै एनआइसी एशिया बैंकले १२ प्रतिशत ब्याज दिएर मुद्दति निक्षेप लिने योजना सार्बजनिक गर्यो । एनआइसी एशियाको सो योजना सार्बजनिक भए लगत्तै सिभिल बैंकले १२.२२ प्रतिशतमा मुद्दति निक्षेप र १० प्रतिशत ब्याजदरमा साधारण बचतमा निक्षेप लिने योजना सार्बजनिक गर्यो ।

यो प्रतिस्पर्धा एनआइसी एशिया र सिभल बैंकमा मात्रै सिमित रहेन । सेन्चुरी बैंक पनि प्रतिस्पर्धामा थपियो । सेन्चुरीले १ बर्षसम्मको मद्दतिमा १२ प्रतिशत र एक बर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपमा १२.५ प्रतिशत ब्याज दिने योजना सार्बजनिक गर्यो ।

अरु बैंक पनि यस्तै प्रतिस्पर्धामा छन् । कुन दिन कुन बैंकले कति ब्याजको अफर गर्छन् भन्ने अनुमान गर्न सकिने अबस्था अहिले छैन । तर, यो मौकामा तपाइले कमाउनु भयो त ? तपाईका लागि यो प्रश्न सान्दर्भिक हुन सक्छ ।

अहिले बैंकहरुले दिने ब्याजको खुद आय गज्जब छ । केही बर्ष अगाडिसम्म मूद्रास्फीतिदर भन्दा ब्याजदर कम थियो । यस्तो हुदा सर्बसाधारणले बैंकमा राखेको पैसा उल्टै कम हुन्थ्यो ।

तर अहिले अबस्था त्यस्तो छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत बैशाखको मूल्यबृद्धि ४ प्रतिशतको हाराहारीमा छ । बैंकले बचतमै पनि ८ प्रतिशत ब्याज दिइरहेका छन् । यसो हुँदा तपाइको खुद आम्दानी ४ प्रतिशत बढी भएको छ ।

तर, बैंकमा पैसा राख्ने सबैको हकमा यो ब्यवस्था लागू नभएको हुन सक्छ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज बढाउँदा पुरानो खाताको ब्याज नबढाइ नयाँ योजना ल्याएर त्यसको मात्रै ब्याज बढाउने गरेका छन् ।

यदि बैंक तथा वित्तीय संस्थाहरुले यो ट्रिक अपनाएर तपाइलाई कम ब्याज दिइरहेका छन् भने तपाइले पनि ट्रिक अपनाउन सक्नुहुन्छ । यसको लागि तपाइले आफ्नो पुरानो खाता बन्द गर्ने र नयाँ खाता खोल्नुपर्ने हुन्छ ।

‘बैंकले पुरानो खातावालाको ब्याज नबढाएका पनि हुन सक्छन्, कुनै बैंकले ब्याज बढाएका र कुनैले नबढाएका पनि हुन सक्छन्, अहिले बढी ब्याज पाइने अवसर भएकोले तपाइले आफ्नो पुरानो खाता बन्द गरेर सोही बैंकमा बढी ब्याज दिने खातामा वा बढी ब्याज दिने अर्काे बैंकमा खाता खोलेर बजारको अवसर लिन सक्नु हुन्छ,’ वित्तीय क्षेत्रबारे जानकार तथा सेयर विश्लेषक रविन्द्र भट्टराई भन्छन् ।

बैंकमा पैसा राख्नेले बढी कमाउने मौका छ । तर, केही बैंक वित्तीय संस्थाहरु तपाइले सोचे जति राम्रा नहुन पनि सक्छन् । त्यसैले बढी ब्याजको आशमा सावाँ नै डुब्ने खतरा पनि त्यत्तिकै हुन्छ । यतातिर भने ध्यान दिनुहोला ।


क्लिकमान्डु