पोखरा विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो



पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सामाग्री आउन सुरु भएको छ ।

पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमान स्थल निर्माणमा प्रयोग हुने सामाग्री नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट ल्याउन थालिएको छ ।

विमानस्थल निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेका छन् । १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले जानकारी दिए ।

तामाङका अनुसार अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङ्कर चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन् । विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेको उनले बताए ।

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको हो ।

सन् २०२१ जुलाई १० सम्म पोखरा विमानस्थल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।

चिनियाँ निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण आयोजना कार्यालयका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे विमानस्थल २०७३ वैशाख १ गते शिलान्यास गरिएको थियो । रासस


क्लिकमान्डु