एक खर्बको निक्षेप तान्न बैंकबीच लिगलिगे दौड सुरु




काठमाडौं । नेपाल बैकर्स संघले निक्षेपको ब्याजदरमा सीमा तोक्दै गरेको भद्र सहमतिको कार्टेलिङ अन्ततः बजारलाई नै खुल्ला छाड्ने निर्णय गर्यो ।

भद्र सहमतिमा बैंकहरुले मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याजदर नदिने र बचतमा ८ प्रतिशत ब्याजदर दिने निर्णय गरेका थिए । एनआईसी एशियाले सो सहमति नमानेपछि एनआईसी एशियालाई संघले कारवाही समेत गर्यो ।

पछि एनआईसी एशियाले भद्र सहमति मान्ने भएपछि कारवाही फिर्ता भयो । तीन महिनाभन्दा बढी गरिएको भद्र सहमतिले व्यक्तिगत तर्फ ब्याजदर ११ प्रतिशतभन्दा बढी नगएपनि धेरै नै बैंकले सहमति उलंघन गरे ।

संघका अध्यक्ष रहेका ज्ञानेन्द्र ढुंगानाले एनआईसी एशियालाई कारवाही गर्ने अडान लिएपनि अरु बैंकले गरेको अव्यवसायिक काममा कारवाहीको निर्णय नै गर्न सकेनन् । धेरैतिरको दवावपछि संघले बजारलाई नै आफुखुसी ब्याजदर तोक्न पाउने निर्णय गर्यो ।

कुनैपनि व्यवसायमा व्यवसायीहरु मिलेर आफुखुसी बजार भाउँ निणन्त्रण गर्ने प्रयासलाई सिन्डिकेट र कार्टेलिङको रुपमा लिइन्छ । सिन्डिकेट र कार्टेलिङ गर्ने गाडी व्यवसायीलाई सरकारले पक्राउ समेत गर्यो र कारवाही पनि गर्यो । बैंकरले भने यसलाई भद्र सहमतिको रुपमा लिने गर्छन् ।

संघले भद्र सहमति नगर्ने निर्णय गरे लगत्तै एनआईसी एशियाले १२ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिने निर्णय गर्यो । त्यसपछि सिभिल बैंकले १२.२२ प्रतिशत ब्याजदरमा मुद्दती र १० प्रतिशत ब्याजदरमा बचत खातामा निक्षेप लिने निर्णय सार्वजनिक गर्यो । सेन्चुरी बैंकले एकवर्षसम्मको मुद्दती निक्षेपको लागि १२ प्रतिशत र एकवर्षभन्दा बढीको लागि १२.५ प्रतिशत ब्याजदर दिने निर्णय गर्यो ।

ब्याजदरको भद्र सहमति नगर्ने निर्णय गरेपछि निक्षेपको ब्याजदर कतिसम्म पुग्छ र यसले कर्जाको ब्याजदर कतिसम्म पुग्ला त्यसको टुंगो छैन ।

असार मसान्तमा बैकिङ प्रणालीमा रहेको १ खर्ब रुपैयाँ निक्षेप परिपक्क हुने क्रममा रहेको छ । बुधवार मौद्रिक नीतिको छलफल कार्यक्रममा बैंकरहरु १ खर्ब रुपैयाँ निक्षेप परिपक्क हुने र त्यो निक्षेप तान्न ठूलो होडबाझी हुने अड्कल संचारकर्मीलाई सुनाउदै थिए ।

बैंकरहरुका अनुसार १ खर्ब निक्षेपमा संचय कोष र नागरिक लगानी कोष गरेर ६० अर्ब रुपैयाँ निक्षेप परिपक्क हुने छ । बाँकी रकम अन्य संस्थागत लगानीकर्ता र व्यक्तिगतको हुने छ ।

‘अब असार मसान्तमा परिपक्क हुन लागेको १ खर्ब रुपैयाँ निक्षेप तान्नको लागि ठूलो होडबाझी हुने छ,’ एक बैंकरले भने, ‘राष्ट्र बैंकले उचित कदम लिएन भने ब्याजदर कतिसम्म पुग्छ भन्न सकिदैन ।’

उनले आफ्नो बैंकको पनि २ अर्ब निक्षेप यसरी परिपक्क हुन लागेको र यसलाई जोगाउने चुनौती ब्याजदर बृद्धिदरले थपिएको सुनाए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार संचय कोषको निक्षेप ५० अर्ब रुपैयाँको छ भने नागरिक लगानी कोषको निक्षेप बैकिङ प्रणालीमा ६४ अर्ब रुपैयाँको छ । बीमा कम्पनीको निक्षेप १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ । व्यक्तिगत लगानीकर्ताको निक्षेप १४ खर्ब रुपैयाँ रहेको छ ।

अबको महिना बैंकहरुबीच परिपक्क हुने १ खर्ब रुपैयाँ निक्षेप तान्न ठूलो होडबाझी नै हुने छ । यसरी परिपक्क भएको निक्षेप बैकिङ प्रणालीमै आउने भएको हुँदा बढी ब्याजदर दिएर निक्षेप तान्ने प्रतिस्पर्धा बैंकहरुबीच हुनेछ ।

बैंकहरुबीच निक्षेप तान्ने प्रतिस्पर्धाले संचय कोष, नागरिक लगानीकोष लगायत ठूला निक्षेपकर्तालाई फाइदा भएपनि यसको असर भने ऋण लिने लगानीकर्र्तालाई पर्नेछ ।

राष्ट्र बैंक आफैले सार्वजनिक गरेको १० महिनाको आर्थिक तथ्यांकको स्थितिमा कर्जाको ब्याजदर अर्थतन्त्रको लागि चुनौतीपूर्ण भएको स्विकार गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएको छ । जसको लागि सबैभन्दा ठूलो चुनौती नै कर्जाको ब्याजदर हुने छ ।


क्लिकमान्डु