इच्छाराज तामाङ भन्छन्ः घर किन्नेलाई ८० प्रतिशतसम्म ऋण दिऊँ




काठमाडौं । जग्गा तथा आवाश विकास संघका अध्यक्ष इच्छाराज तामाङले घर किन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने ब्यक्तिहरुले धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाउने ब्यवस्था गर्न माग गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि मौद्रिक नीतिमा सुझाब माग्न आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष तामाङले यस्तो माग गरेका हुन् ।

‘अहिले धितो मूल्यांकनको ४० प्रतिशतसम्म ऋण पाउने भनिए पनि वास्तविक रुपमा धितो मूल्यांकनको २० प्रतिशत जति मात्रै ऋण पाइन्छ, घर भनेको हरेक नागरिकको आधारभूत आवश्यकताको बस्तु भएकोले धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाइने ब्यवस्था गर्नुपर्छ, यो ८० प्रतिशत भनेको पनि वास्तविक अर्थमा ३५ देखि ४० प्रतिशतसम्म हुन्छ,’ उनले भने ।

उनले जग्गा धितोमा पाइने ऋणको सीमा ६० प्रतिशत, कमर्सियल हाउजिङको ७० प्रतिशत र घर कर्जाको सीमा ८० प्रतिशत पुर्याउन माग गरेका हुन् ।

सरकारले विगत केही बर्षयता लिएको नीतिका कारण घरजग्गा क्षेत्रले ठूलो नोक्सानी ब्यहोरेको भन्दै उनले राजस्वको ठूलो क्षेत्र भएकोले यो क्षेत्रलाई सहयोग गर्नुपर्ने बताए ।

यस्तै आगामी आर्थिक बर्षको लागि ल्याइएको बजेटमा ब्यक्तिगत रुपमा घर जग्गा कारोबार गर्न नदिने र कम्पनी मार्फत मात्रै यस्तो कारोबार गर्ने ब्यवस्था उचित भएको पनि तामाङको भनाइ छ । कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने ब्यवस्था कार्यान्वयन पछि यो क्षेत्रमा जाने कर्जाको सीमा बढाउनु पर्ने अध्यक्ष तामाङको भनाइ छ ।


क्लिकमान्डु