आउँदो वर्षदेखि नेपालमा रेल चल्ने, चलाउनका लागि रेल खरिद गरिदै



चितवन । रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो ।
जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । जयनगर–जनकपुर मार्गमा आउँदो वर्षभित्रै रेल सञ्चालन हुने रेल विभागका अधिकारीले बताएका छन् ।

भारतले कहाँ कहाँ बनाउँदै छ रेल ?

रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले आज(सोमबार) भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै भारत सरकारको सहयोगमा क्रस बोर्डर कनेक्टिभिटीअन्तर्गत जलपायुगुडी–काँकडभिट्टा ७० किलोमिटर, जोगवनी–विराटनगर १८ किलोमिटर, जयनगर–बर्दिबास ७० किलोमिटर, नौतुनवा–भैरहवा १७ किलोमिटर र रुपडिया–नेपालगञ्ज १२ किलोमिटर रेल निर्माणका लागि भारतसँग सम्झौता भई कार्य अगाडि बढेको बताए ।

भारतसँगको सहमतिअनुसार जोगवनी–विराटनगर १८ किलोमिटर रेलमार्गमध्ये ८० प्रतिशत रेलमार्ग निर्माण कार्य सम्पन्न भएको समेत उनले जानकारी दिए । जयनगर–कुर्तासम्मको ३५ किलोमिटरको कार्य आगामी अक्टोबरमा सम्पन्न हुने उपाध्यायले बताए ।

त्यसैगरी नौतुनवा–भैरहवा र रुपडिया–नेपालगञ्ज रेलमार्गको सर्भे भइरहेको छ । चाँडै नै निर्माण कार्य शुरु हुने उनले बताए ।

पूर्व पश्चिम विद्युतिय रेलमार्ग

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्गको काम पनि तीव्र गतिमा अगाडि बढाइएको छ । यो मार्गको डिपिआर र डिजाइन तयार पार्ने कार्य र निर्माण गर्ने कार्य सँगसँगै अगाडि बढेको उपाध्यायले बताए । आगामी नोभेम्बरसम्ममा डिपिआर तयार भईसक्ने छ । मेची महाकाली रेलमार्गको लम्बाइ करीब ९ सय ४५ किलोमिटर रहने छ । जसमा आठ ठाउँमा सुरुङ मार्ग निर्माण गरिने छ ।
शिवपुर–भालुवाङ १४ किलोमिटर लामो सुरुङ मार्ग हुनेछ भने अन्य सुरुङ मार्ग छोटा दूरीका हुनेछन् । सुरुङ मार्गको संख्या घटाउन गृहकार्य भइरहेको समेत उनले जानकारी दिए । २०० किलोमिटर प्रतिघण्टा रेल गुड्न सक्ने गरी यो मार्ग निर्माण गर्न थालिएको विभागले जानकारी दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा मार्ग परिवर्तन

चितवन राष्ट्रिय निकुञ्ज हुँदै जाने रेलमार्गको मार्ग परिवर्तन गर्नुपर्ने भएकाले निजगढदेखि हेटौँडा–भरतपुर हुँदै नवलपरासीसम्मको डिपिआर र डिजाइन परिवर्तन गर्नुपरेको छ । निकुञ्जको आग्रहमा मार्ग परिवर्तन गरिएको हो । यसको सम्भाव्यता अध्ययन भइसकेको र निकट भविष्यमै डिपिआर तयार हुने बताईएको छ ।
भारत सरकारले बर्दिवा ससम्म जोड्ने भएकाले बर्दिवासबाट पश्चिमतर्फ रेलमार्गको निर्माण कार्य भइरहेको उपाध्यायले बताए ।

बन्ने भो चिनियाँ रेल

रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायले केरुङ–काठमाडौँ रेलमार्गको प्रक्रिया पनि अगाडि बढेको बताए ।

चिनियाँ प्राविधिक टोलीले स्थलगत अध्ययन गरी फर्किएको र छिट्टै प्रतिवेदन नेपाली पक्षालई दिने बताएको उनले जानकारी दिए । करीब १०० किलोमिटर लामो उक्त मार्गको ९० प्रतिशत क्षेत्र पुल र सुरुङ हुने भएकाले निकै खर्चिलो हुने अनुमान गरिएको छ ।
वीरगञ्ज–काठमाडौं पनि रेल

वीरगञ्ज–काठमाडौँ रेलमार्गको पनि प्रक्रिया अगाडि बढेको छ । उपाध्यायका अनुसार भारतबाट वीरगञ्जको सुख्खा बन्दरगाहसम्म ८०० मिटर मार्ग बनिसकेको छ ।

गत शुक्रबार भारतीय प्राविधिक टोली आएर एक वर्षभित्र डिपिआर र नक्साङ्कन कार्य सक्ने गरी कार्य गर्ने जनाएको उपाध्यायले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि भारतीय पक्षले कामलाई तीव्रता दिएको हो । भारतीय पक्षसँग छलफल भएको बताउँदै उहाँले भारतीयले छिट्टै यहाँ कार्यालय स्थापना गरेर कार्य अगाडि बढाउने उनले बताए ।

रेल किन्दै छ नेपाल

रेल गरिदका लागि अहिले सरकारले ५० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । आउँदो वर्ष जयनगर–जनकपुरको ३५ किलोमिटर क्षेत्रमा रेल गुडाउनका लागि रेल खरिद गर्ने प्रक्रिया अगाडि बढेको समेत उनले जानकारी दिए ।

चारवटा रेलका लागि करीब दुई अर्ब लागत लाग्ने भएपनि सरकारले भने आवश्यक बजेट विनियोजन गरेको छैन् ।

तराई क्षेत्रमा एक किलोमिटर रेलमार्ग निर्माण गर्ने ५० करोड रुपैयाँ र पहाडी क्षेत्रमा एक किलोमिटर रेलमार्ग निर्माण गर्न चार अर्ब रुपैयाँ लागत लाग्ने विभागको अध्ययनले देखाएको छ । रासस


क्लिकमान्डु