आर्थिक अबस्था ठीकै छ, कृषि, उद्योग र सेवा क्षेत्रमा चुनौति छः राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको आर्थिक परिदृष्य सकारात्मक रहेको बताएको छ । चालु आर्थिक बर्षको ६ महिना (साउनदेखि पुस मसान्त) सम्मको तथ्यांकको आधारमा राष्ट्र बैंकले यस्तो बताएको हो ।

आर्थिक वर्षको सुरुवातमा आएको बाढी तथा डुवानका कारण धानको उत्पादनमा केही कमी आए तापनि कृषि आगतहरुको सहज आपूर्ति तथा बढ्दो व्यवसायीकरणका कारण समग्र कृषि क्षेत्रको उत्पादन वृद्धिदर सामान्य रहने भएको छ । यस वर्ष विद्युत आपूर्तिमा सुधार आएको तथा निर्माणजन्य गतिविधिमा विस्तार भएसँंगै खानीजन्य उत्पादनमा समेत वृद्धि हुने देखिएकाले औद्योगिक क्षेत्रको उत्पादन वृद्धिदर सन्तोषप्रद रहने राष्ट्र बैंकको भनाइ छ ।

पर्यटक आगमनमा भएको वृद्धि तथा विभिन्न तहका सरकारहरुबाट स्थानीय तहमा भौतिक तथा प्रशासनिक पूर्वाधार लगायत विविध सेवा प्रदान गर्न लाग्ने खर्चमा हुने वृद्धिबाट सेवा क्षेत्र विस्तार हुने राष्ट्र बैंकले देखेको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा कृषि क्षेत्रको समग्र अवस्था सकारात्मक देखिएको छ । आर्थिक गतिविधि अध्ययनमा समेटिएका ५७ जिल्लाहरुको खासगरी कृषि उपजले ढाकेको समग्र भू–क्षेत्रमा बढोत्तरी आएको राष्ट्र बैंकको भनाइ छ ।

यस अवधिमा प्रमुख खाद्यान्न बालीहरुमध्ये मकैको उत्पादन ४.५ प्रतिशत तथा आलुको उत्पादनमा ५.५ प्रतिशतले वृद्धि भएको तथा धानको उत्पादनमा भने १.५ प्रतिशतले कमी आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तरकारीको उत्पादनमा ६.८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा अध्ययन क्षेत्र अन्र्तगतका बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कृषि कर्जा ८.८ प्रतिशतले वृद्धि भएको छ ।

यो बर्षको पहिलो छ महिनामा उद्योगको उत्पादन क्षमता सीमान्त रुपले बढेको छ । समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ५८.० प्रतिशत उपयोग गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा औद्योगिक उत्पादन क्षमताको उपयोग ५४.२ प्रतिशत रहेको थियो ।

औद्योगिक उत्पादनमध्ये वनस्पति घिउ तथा तेल, पेय पदार्थ, तयारी कपडा र औषधिको उत्पादनमा वृद्धि भएको छ । यसैगरी, चिरेको काठ, फलामको छड तथा पत्ति, ईटा, सिमेन्ट तथा बिजुली तार र केवलको उत्पादनमा वृद्धि भएको छ भने प्रशोधित दूध, अन्न तथा पशुदाना, अन्य खाद्य पदार्थ, धागो, प्रशोधित छाला र अखबारी कागजको उत्पादनमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको समग्र औद्योगिक कर्जा ११.९ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को पहिलो छ महिनामा घर जग्गा कारोबारको संख्या र सोको राजश्वमा उल्लेख्य कमी आएको छ । घर–जग्गा रजिष्ट्रेशन संख्या २०.५ प्रतिशत तथा रजिष्ट्रेशन वापतको राजस्व संकलन २१.५ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जामा वृद्धि देखिएको छ । वित्तीय साधनको वितरण अभैmपनि राजधानी केन्द्रीत रहेको छ । अध्ययनमा समेटिएका बैंक तथा वित्तीय संस्थाहरुको समीक्षा अवधिमा निक्षेप परिचालन ८.४ प्रतिशतले वृद्धि भएको छ भने कुल कर्जा प्रवाह ९.२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिको अन्तमा ८२.८ प्रतिशत रहेको कर्जा÷निक्षेप अनुपातमा वृद्धि भई समीक्षा अवधिमा ८६.१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको कुल निक्षेपमा काठमाण्डौ क्षेत्रको अंश ६८.५ प्रतिशत रहेको छ भने कुल कर्जामा यस क्षेत्रको अंश ५१.३ प्रतिशत रहेको छ ।

सेवा क्षेत्रतर्पm यातायात तथा सञ्चार क्षेत्रको विस्तार उल्लेख्य रहेको छ । सवारी साधनको दर्ता १२.८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, संचार क्षेत्र अन्तर्गत नेपाल टेलिकम, एन–सेल तथा अन्य कम्पनीहरुबाट वितरण गरिएको मोवाइल (सिडिएमए समेत) तथा ल्याण्ड लाइन टेलिफोनको संख्यामा ११.७ प्रतिशतले वृद्धि भएको छ भने कुल वितरित इन्टरनेट सेवामा १६.० प्रतिशत वृद्धि भएको छ ।

मुलुकको समग्र आर्थिक परिदृष्य सकारात्मक रहेता पनि कृषि, उद्योग र सेवा क्षेत्रमा अभैm चुनौतीहरु विद्यमान रहेका राष्ट्र बैंकको भनाइ छ । कृषि क्षेत्रमा खासगरी सिँचाइ सुविधाको अभाव, जमीनको अनावश्यक खण्डिकरण, कृषि प्रसार तथा प्राविधिक सेवाको अपर्याप्तता, उन्नत जातका बीउ–बिजन तथा गुणस्तरीय रासायनिक मलको अभाव तथा कृषि कार्यका लागि सहज कर्जाको अभाव, बजार पहुँच जस्ता समस्याहरु रहेका छन् ।

उद्योग क्षेत्र तर्फ ऊर्जा संकटको दीर्घकालीन समाधान, औद्योगिक पूर्वाधारको विकास तथा लगानीमैत्री वातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नु चुनौतिपूर्ण रहेको छ । त्यसैगरी, वित्तीय सेवाको पहुँचमा अभिवृद्धि, वित्तीय साक्षरता अभियान, तथा पर्यटकीय पूर्वाधारको विकास लगायतका कार्यहरु चुनौतिपूर्ण रहेका राष्ट्र बैंकको भनाइ छ ।


क्लिकमान्डु