बोनस र हकप्रदमा करको नयाँ ब्यवस्थाः महानिर्देशकको सोच कि अर्थमन्त्रीको योजना ?




काठमाडौं । डेढ वर्ष अगाडि अर्थमन्त्रालयका तत्कालिन राजस्व महाशाखा प्रमुख बिष्णु नेपालले स्टक एक्सचेन्जका अधिकारीलाई छलफलको लागि बोलाए ।

हाल आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका नेपाल त्यो बेला अर्थमन्त्रालयमा राजस्व महाशाखा प्रमुख थिए ।

उनले स्टक एक्सचेन्जका अधिकारीसँग बोनस र हकप्रद सेयरमा आउने लाभकर सरकारले प्राप्त नगरेको र अंकित मुल्यलाई आधार मानेर लाभकर लिने व्यवस्था गर्नुपर्ने बताए ।

नेपालको कुरा सुनेपछि स्टकका अधिकारीहरुले सो व्यवस्था लागू हुँदा सेयर बजार तहसनहस हुने र सो लागू गर्न नहुँने आफ्नो धारणा राखे ।

स्टकका अधिकारीहरु आफ्नो पक्षमा नभएपछि नेपालले सरकारी कर्मचारी भएर सरकारको कर असुल गर्ने नीतिमा सहयोग गर्नुपर्ने बताए ।

‘तपाईहरु सेयर लगानीकर्ता र ब्रोक्ररको पक्षमा उभिनु भयो, सरकारी कर्मचारी भएपछि सरकाको नीतिमा उभिनुपर्छ,’ नेपालले त्यो बेला भनेको भनाई स्मरण गर्दै स्टकका एक अधिकारीले भने ।

यसभन्दा अगाडि अर्थमन्त्रालयमा विभिन्न चरणमा हकप्रद र बोनस सेयरलाई अंकित मुल्यको आधारमा लाभकर लिनुपर्ने चर्चा चलिरहन्थो ।

अर्थमन्त्रालयको राजस्व महाशाखा प्रमुखको हैसियतमा नेपालले आन्तरिक राजस्व विभागमा हकप्रद र बोनस सेयरमा अंकित मुल्यको आधारमा लाभकर लिनुपर्ने व्यवस्था गर्न सुझाव सहितको पत्र पठाए ।

त्यो बेला विभागका महानिर्देशक सहितका उच्च अधिकारीहरु यसमा सहमत देखिएन् । त्यसपछि नेपाल अर्थमन्त्रालयबाट महालेखा नियन्त्रक कार्यालय पुगे ।

अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि महालेखा नियन्त्रक कार्यालयमा रहेका नेपाललाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाए ।

कर प्रशासनमा आन्तरिक राजस्व विभागको महानिर्देशक पद अन्यन्त शक्तिशाली हुन्छ । अर्धन्यायिक निकायको समेत अधिकार महानिर्देशकलाई हुन्छ ।

लक्ष्य अनुसारको कर उठाउन राजस्व प्रशासनलाई कठिन भइरहेको थियो । चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न कठिन भएको समयमा अर्थमन्त्रीले बजेट मार्फत ३० प्रतिशत राजस्व बृद्धि गर्ने लक्ष्य आगामी वर्षको लागि राखे ।

चालु आर्थिक वर्षमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जसमा हिजोको दिनसम्ममा ६ खर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

आगामी वर्षको लागि ८ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

विगतमा बोनस र हकप्रद सेयरमा लाभकर लगाउने पक्षमा रहेका नेपाल महानिर्देशक भएपछि त्यो कार्यान्वयन गर्ने भूमिकामा छन् । एकातर्फ राजस्व बढाउनुपर्ने दवाव र अर्को तर्फ हिजो दिनमा आफैले सुझाएको ब्यवस्था कार्यान्वयनमा महानिर्देशक नेपाल अहिले कम्बर कसेर लागेका छन् ।

अर्थमन्त्री खतिवडाको धारणा सेयर बजारको बारेमा अरुभन्दा फरक छ । अर्थमन्त्री सेयर बजारप्रति सकारात्मक छैनन् । जुन कुरा मन्त्रीका अभिव्यक्तिमा पनि आइरहेका हुन्छन् । यस्तोमा महानिर्देशक नेपालले हकप्रद र बोनस सेयरमा लाभरक कर लगाउने निर्णय गरे । सो अनुसारको परिपत्र स्टक एक्सचेन्जमा पठाए । जसको असर सेयर बजारमा देखियो । २ दिनमा नेप्से परिसूचक करिब ४० अंकले घट्यो ।

सोमबार राती कान्तिपुर टेलिभिजनमा प्रशारण भएको अन्तरवार्तामा अर्थमन्त्री खतिवडाले हकप्रद र बोनस सेयरको लाभकरको विषयको अन्यौल हटाउन तयार भएको बताएका थिए ।

यो विषयमा सोमबार सेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीहरुसँग छलफल भएपनि निष्कर्ष भने निस्कन सकेन ।


क्लिकमान्डु