अर्थमन्त्रीप्रति जेष्ठ नागरिकको आक्रोशः बाउआमालाई झुक्क्याउनेले अरुलाई बाँकी राख्लान् ?




काठमाडौं । अग्रज समाज नेपालले एमालेले आफूहरुलाई झुक्याएको आरोप लगाएको छ । चुनावको बेलामा बृद्धभत्ता मासिक ५ हजार रुपैयाँ दिन्छु भनेर भोट मागेको र चुनावपछि सुविधाजनक बहुमत प्राप्त गरेर सरकार बनाउँदा त्यो प्रतिवद्धता उल्लघन गरिएको समाजको आरोप छ ।

मिनभवन स्थित यातायात विभाग बाहिर धर्नामा बसिरहेका अग्रज समाज नेपालका सहअध्यक्ष नयन्द्र बहादुर खड्काले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बनाउने बेलामा बाम घोषणापत्रमा उल्लेख गरिएको बिषयालाई समेत बेवास्ता गरिएको आरोप लगाए ।

‘बजेट भाषणमा हाम्रो कुनै पनि वास्ता गरिएन, पहिले एमालेले हामीलाई मासिक ५ हजार रुपैयाँ वृद्ध भत्ता र देशभर यातायातमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउँछु भनेको थियो, बजेट ल्याउँदा त्यो कुरा आएन, हामीलाई झुक्याइयो,’ खड्काले भने ।

अहिले काठमाडौं, भक्तपुर र ललितपुर गरी ३ जिल्लामा मात्र जेष्ठ नागरिकलाई सार्बजनिक यातायातमा छुटको व्यवस्था गरिएको छ ।

‘हामीले सबैलाई समेटेर एमालेलाई जितायौं, अहिले आएर आशाआशै झोलितुम्बो मुखमा टासै भयो, अर्थमन्त्रीले केही वास्तै गरेनन्,’ उनले थपे ।

खड्काले अर्थमन्त्रीले राजनीति नै नजानेको व्याङ्या गरे ।

‘अर्थमन्त्रीको ज्ञान मूल्याङ्कन गर्दा उनी राजनीतिक पार्टीमा घुलमिल भएको मान्छे जस्तो लागेन, उनी राष्ट्र बैंकको गभर्नर भए होलान्, विद्धवान होलान्, पीएचडी गरे होलान्, ठूलो पद पाए होलान्, तर कुन नागरिकलाई राज्यले कस्तो ब्यवहार गर्नुपर्छ भन्ने जानकारी उनलाई रहेछन्,’ खड्काको आरोप छ ।

अर्थमन्त्री खतिवडाले जेष्ठ नागरिकको भूमिका मूल्यांकन नगरी रोडमा फालेको काठ जस्तो पनि ब्यवहार नगरेको आरोप लगाए ।

७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागि १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने कार्यक्रम सरकारले ल्याएको छ । जेष्ठ नागरिकले सरकारको यो कार्यक्रमलाई झुक्याउने प्रपञ्चको रुपमा लिएका छन् ।

अग्रज समाजले आफूहरुका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।

‘हामीले ३÷४ सय जनाको समिति गठन गरेर शान्तिपूर्ण किसिमले धर्ना थालेका छौँ, हामी रुदै कराउँदै भए पनि हाम्रा माग सम्बोधन नभएसम्म यो धर्ना निरन्तर जारी राख्ने छौँ,’ खड्काले भने ।

एमालेको सरकार बनेमा आफूहरुको दुःखका दिन सकिने अर्थमा बुझेपछि अहिले त्यो सबै भ्रम जस्तो भएको खड्काले बताए ।

‘एमालेको स्थायी सरकार बनेपछि आफ्नो दुखको दिन जान्छ भन्ने आशा थियो तर, त्यो सबै निराशामा बदलियो,’ उनले दुखेसो गरे ।

धर्नामा रहेका अग्रज समाज नेपालका उपाध्यक्ष हरिप्रसाद भट्टराईले आफूहरुबाट एउटा जाउलो खाने पैसा समेत खोस्ने प्रयास गरेको बताए ।

‘एमालेले सुरुमा तपाइले चिन्तै मान्नु पर्दैन, अब दुखका दिन गए, एमाले सरकार आउँदैछ, तपाइहरु हामीलाई जिताउनुहोस्, हामी तपाइका सबै समस्या समाधान गरिदिन्छौं भनेर भोट मागे, हामीले विश्वास गरेर परिवारका सबैलाई एमालेलाई जिताउन पहल गर्यौं, अहिले हामी वृद्धाबाट एउटा जाउलो खुवाउने भत्ता समेत बढाएन,’ उनले भने ।

उनले ०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले दिएको १ सय रुपैयाँदेखि अहिले २ हजार रुपैयाँसम्म पाएको तर महंगिसँगै वृद्धा भत्ता बढाउनु पर्ने कुरामा एमाले सरकारले मुख बङ्गाएको बताए ।

‘एमालेले जित्यो, ठिक छ, हामी आनन्दमै थियौं तर, बजेट भाषणमा वृद्धा भत्ता बढाएन, भने अनुसारको कुनै माग सम्बोधन गरिएको छैन्, हामी हाम्रा मागहरु पूरा नभएसम्म यही बसेर धर्ना गछौँ,’ उनले भने ।

भट्टराईले वृृद्धा भत्ता नबढाउने र १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गरिदिने कुरा कुनै उपयोगी नभएको बताए ।

‘हामीलाई १ लाख रुपैयाँ दिए पनि १० लाख रुपैयाँ दिए पनि त्यो त्यो पैसाले बाउआमा पाल्न सक्दैन,’ उनले भने ।

उनले यो माग ५/१० जनाको नभई नेपालमा रहेका २५ लाख जेष्ठ नागरिकसँग सम्बन्धित रहेको बताए ।

‘सरकारले आफ्नो कुरा आफैले झुठो बनायो, बाउँआमालाई झुक्क्याउन सक्नेले अरुका लागि के गर्लान् ?’ उनले प्रतिपश्न पनि गरे । अहिले अग्रज समाज नेपालले १० बजेदेखि १२ बजेसम्म दैनिक धर्ना गरिरहेको छ ।


क्लिकमान्डु