सरकारको नीति तथा कार्यक्रम सोमबार, यस्ता छन् सरकारका प्राथमिकता




काठमाडौं । वर्तमान वाम सरकारले यही जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।

तर नीति तथा कार्यक्रममा के कस्ता विषय समेटिएका छन् भन्ने बारेमा सरकारी अधिकारीले हालसम्म केही पनि बताएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा पर्म्परागत प्रणाली भन्दा माथि उठेर नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको बताएका थिए ।

उनले भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा राखिएको बताएका थिए ।

निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समय भन्दा पहिल्यै सम्पन्न गर्ने रणनीतिलाई प्रमुख प्राथमिकतामा राखिएको र नीति तथा कार्यक्रम विगतको कार्यक्रम भन्दा आकाश जमिनको फरक हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मात्रै नभई जनताको घर आँगनमा विकासको मूल फुटाउने तयारीका साथ विकास निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याउन लागिएको नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले बताएका थिए ।

उनले मेलम्ची खानेपानी आयोजना निर्माण सकिन लागेको र आगामी दशैमा सो आयोजनाबाट काठमाडौंमा पानी आउने, यसै वर्षको मंसिरसम्म माथिल्लो तामाकोशी आयोजना सकिने भएकाले धेरै रोजगारीको अवसर सिर्जना गर्ने र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने खालका कार्यक्रमको तयारी भइरहेको बताएका थिए ।

सरकारको नीति तथा कार्यक्रम कस्तो आउँला भन्नेमा आम नागरिकको चासो रहेको छ । प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डको भनाईलाई आधार मान्ने हो भने विकास निर्माणलाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको बुझ्न सकिन्छ । तर सरकारी अधिकारी भने नीति तथा कार्यक्रम बारे आफूहरुलाई केही पनि जानकारी नभएको बताउँछन् ।

सरकारका नीति तथा कार्यक्रम राजनीतिक विषय भएकोले आफूहरुलाई थाहा नभएको उनीहरुको भनाइ छ । तर पूरा नहुने तथा आर्थिक रुपमा सम्भाव्य नभएका आयोजना नीति तथा कार्यक्रम राखेको भरमा मात्रै पूरा हुन नसक्ने देखिन्छ ।


क्लिकमान्डु