वाम सरकारको पालामा ५ प्रतिशतको मूल्यवृद्धि




काठमाडौ । देशमा वाम सरकार छ । तर उपभोक्ता भने चरम मूल्यवृद्धिको मारमा परेका छन् ।

बाम गठबन्धनबाट केपी ओली प्रधानमन्त्री बनेपछि पेट्रोलियम पदार्थको मूल्य ४ पटक बढिसकेको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ छ ।

चालु आर्थिक बर्षको नौ महिना अर्थात चैत मसान्तसम्मा समग्र मूल्य बृद्धि ५.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत बर्षको चैत मसान्तसम्ममा यस्तो मूल्य बृद्धि ३.८ प्रतिशत थियो ।

यस्तो मूल्य बृद्धि पनि खाद्य पदार्थमै बढी भएको तथ्यांकले देखाएको छ । गत वर्ष ०.७ प्रतिशत रहेको खाद्य मुद्रा स्फीति चालु आवको नौ महिनामा बढेर ४.७ प्रतिशत पुगेको छ । राजनीतिक स्थिरता तथा बन्द हडताल नभएका पनि उपभोक्ताको भान्सामा समेत प्रभाव पर्ने गरी खाद्य मुद्रास्फीति बढेको हो ।

गत वर्षको तुलनामा तरकारी, फलफूलजन्य वस्तु र दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।

हिमालमा सबैभन्दा बढी महंगी
नेपाल राष्ट्र बैंकले प्रकााशित गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकले हिमाली क्षेत्रमा ७ प्रतिशतले मूल्य बढेको देखाएको छ । गत बर्षको सोही अबधिमा हिमालमा २.८ प्रतिशतले महंगी बढेको थियो ।

पहाडमा भने ६ प्रतिशतले महंगी बढेको छ । गत बर्षको सोही अवधिसम्ममा पहाडमा ५.६ प्रतिशतले महंगी बढेको थियो ।

राष्ट्र बैंकका अनुसार योबीचमा तराईमा ५.७ प्रतिशत र काठमाडौं उपत्यकामा ४.३ प्रतिशतले महंगी बढेको छ । गत बर्षको चैत मसान्तसम्ममा यस्तो महंगी छ तराइमा ३.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.७ प्रतिशत थियो ।

यस्तै नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २०७४ चैत महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ४.६ प्रतिशत रहेको छ ।

दुई देशबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालकोमुद्रास्फीति ३.५ प्रतिशत र भारतको ३.० प्रतिशत रहेको थियो ।

खासगरी, आयातित वस्तुहरु तथा देश भित्र उत्पादन भएको वस्तुहरुमा भएको मूल्य वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।


क्लिकमान्डु