पुग्ला राजस्वको लक्ष्य ? अब दैनिक उठ्ला त साढे २ अर्ब रुपैयाँ ?




काठमाडौं । डा. युवराज खतिवडा मन्त्री बनेर अर्थमन्त्रालय छिर्दै गर्दा उनको टाउको दुखाइको बिषय लक्ष्य अनुसार राजस्व उठ्छ कि उठ्दैन भन्ने पनि थियो । कर प्रशासनमा ब्यापक अनियमितता छ भन्ने आम बुझाइ जस्तै उनले राजस्वको मुहानै सफा गर्ने भन्दै भन्सार विन्दुमा सन्दर्भ मूल्यको आधारमा भन्सार महसुल उठाउन निर्देशनै दिए ।

आन्तरिक राजस्व विभागले उठाउने राजस्व लक्ष्य अनुसार उठ्ने अनुमान पहिलादेखि नै थियो । तर, भन्सार महसुल लक्ष्य अनुसार नउठ्ने देखिएपछि अर्थमन्त्रालय यसैमा केन्द्रीत बनेको थियो ।

जेठ १ गतेको तथ्यांकले भने अर्थमन्त्रालय र समग्र कर प्रशासनलाई राहत मिलेको संकेत गरेको छ । बैशाख ३१ गतेसम्म सरकारले ५ खर्ब ६६ अर्ब ५७ करोड ७६ लाख ४९ हजार रुपैयाँ राजस्व उठाएको छ ।

सरकारले चालु आर्थिक बर्षमा ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार बैशाख मसान्तसम्मको तथ्यांकलाई हेर्दा सरकारले अब लक्ष्य अनुसार राजस्व उठाउन १ खर्ब ६३ अर्ब ४७ करोड ७९ लाख २१ हजार रुपैयाँ राजस्व उठाउनु पर्ने हुन्छ ।

चालु आर्थिक बर्ष सकिन अब ६३ दिन (जेठका ३१ दिन र असारका ३२ दिन) बाँकी छ । सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन अब दैनिक २ अर्ब ५९ करोड ४८ लाख ८७ हजार रुपैयाँ उठाए पुग्छ ।

दैनिक साढे २ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्छ त भन्ने प्रश्न पनि आउँछ । यसको लागि दैनिक औसतमा कति राजस्व उठ्ने गरेको छ भनेर पनि हेर्नुपर्ने हुन्छ । एक बर्षमा सरकारले ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको हो । एक बर्षमा ३६५ दिन हुन्छन् । यसरी हेर्दा सरकारले दैनिक औसत २ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको बुझ्न गाह्रो हुदैन ।

यो लक्ष्यको कुरा भयो । दैनिक उठेको राजस्वको अंक पनि हेरौं । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार बैशाख ३१ गते मात्रै ६ अर्ब १७ करोड ३५ लाख ३७ हजार रुपैयाँ राजस्व उठेको छ ।

बैशाख ३१ गतेको तथ्यांकलाई हेरेर दैनिक औसत मान्न सकिने अबस्था रहेन । किनभने दैनिक ६ अर्ब रुपैयाँ राजस्व उठ्ने हो भने बर्षभरीमा ७ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्छ । त्यसैकारण अर्काे कुनै दिनको तथ्यांक हेर्नुपर्ने देखियो ।

बैशाख २० गतेको तथ्यांकलाई दैनिक औसत मान्न सकिने अबस्था रह्यो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सो दिन २ अर्ब ३ करोड १५ लाख ४५ हजार रुपैयाँ राजस्व उठेको छ । यो तथ्यांकले सरकारको दैनिक २ अर्ब रुपैयाँ राजस्व उठ्ने लक्ष्यलाई ठीक देखाएको छ ।

स्वभाविक रुपमा असार मसान्तमा राजस्व बढी उठ्छ । यसकार सरकारले चालु आर्थिक बर्षमा राखेको राजस्वको लक्ष्य पुग्ने देखिएको छ ।


क्लिकमान्डु