कम्यूनिष्ट सरकारले व्यक्तिको निजी सम्पत्ति खोस्दैनः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कम्यूनिष्ट सरकारले जनताको निजी सम्पत्ति नखोस्ने प्रष्ट पारेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा अर्थमन्त्री खतिवडाले सम्पत्ति माथिको व्यक्तिको अधिकार संविधानमा नै प्रष्टसँग उल्लेख भएको र यो सरकार संविधानअनुसार नै अघि बढ्ने बताए ।

राष्ट्रियसभाका सांसदहरुले निजी सम्पत्तिमाथिको अधिकारका बारेमा यो सरकारलाई शंका गरेका थिए ।

अर्थमन्त्री खतिवडाले आपूले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो तयारी गरिरहेको जानकारी दिए ।

आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का सम्बन्धमा सदस्यहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै उनले नागरिकका मौलिक हकका साथै निजी क्षेत्रको व्यवसायको अधिकारको सीमामा रहेर बजेट आउने जानकारी दिएका हुन् ।

मन्त्री खतिवडाले रकमका लागि केन्द्रमा हेर्ने र अधिकारमात्र आफू लिन खोज्ने प्रवृत्ति प्रदेश र स्थानीय सरकारले लिन नहुने भन्दै बजेटले त्यसलाई संयोजनको पहल गर्ने विश्वास व्यक्त गरे ।

‘निर्वाचनपछिको तीन तहको सरकार भएकाले वित्तीय संघीयता कार्यान्वयनका लागि आसन्न बजेटले इच्छाशक्ति बढाउनेछ, यसमा सांसदहरुको सहयोग आवश्यक पर्छ,’ अर्थमन्त्रीले भने ।

बैठकमा परशुराम मेघी गुरुङ, सुरेन्द्रराज पाण्डे, रामलखन चमार, नैनकला थापा, सरिता प्रसाईं, खेमराज नेपाली, प्रमिला गुरुङ, दुर्गाप्रसाद उपाध्याय, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र भैरवबहादुर श्रेष्ठले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे सुझाव दिए ।

राष्ट्रियसभाको अर्को बैठक आगामी जेठ ३ गते ११ बजे बस्नेछ ।


क्लिकमान्डु