सहुलियत दिए गाडीका सामान नेपालमै उत्पादन गर्छाैं: गोल्छा




काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एसेम्बलिङ उद्योगलाई सरकारले सहुलियत दिए अबको ३ बर्षभित्र गाडीमा प्रयोग हुने ३० प्रतिशत बस्तु नेपालमै उत्पादन गर्न सकिने बताएका छन् ।

मोटरसाइकलको नेपालमै एसेम्बलिङ गरी उत्पादन गरिरहेका गोल्छाले यस्तो उद्योगलाई सरकारले अहिलेसम्म कुनै सहुलियत नदिएको गुनासो पनि गरे ।

‘नेपालमा अटोमोबाइलको बजार निकै ठूलो भइसक्यो, यस्ता बस्तुको अब यही भ्यालू एडिसन गर्न सकिन्छ, एकैपटक गाडी यही उत्पादन गर्नुपर्छ भनेर हुदैन, त्यसको लागि हामीले एसेम्बलिङ उद्योगबाट सुरु गरेर अटोमोटिभ उद्योग संचालन गर्ने हो, तर, यसको लागि सरकारले सहयोग गर्नुपर्छ,’ गोल्छाले क्लिकमाण्डूसँग भने ।

नेपालमा अटोमोटिभ उद्योग सुरु भए सो क्षेत्रले लाखौं जनतालाई रोजगारी दिन सक्ने गोल्छाको भनाइ छ ।

आफूहरुले सरकारलाई बजेट मार्फत एसेम्बलिङ उद्योगमा सहुलियत दिन अनुरोध गरेको पनि उनले जानकारी दिए ।

‘यो कुरा हामीले सरकारसँग पनि राखेका छौं, तर, हाम्रो कुरालाई सरकारले कसरी लिन्छ भनेर बुझ्न बजेटसम्म पर्खनु पर्छ होला,’ उनले भने ।

सुरुमा एसेम्बलिङ उद्योगलाई प्रोत्साहन गर्ने हो भने त्यसले अटोमोटिभ उद्योगलाई प्रोत्साहन गर्ने र गाडीमा प्रयोग हुने ३० देखि ३५ प्रतिशत बस्तुहरु नेपालमै उत्पादन हुन सक्ने अबस्था रहेको गोल्छाको भनाइ छ । यसको लागि करिब ३ बर्ष समय लाग्ने उनले बताए ।

‘अहिले एसेम्बलिङ उद्योगलाई सरकारले सहुलियत दिने हो भने अबको ३ बर्षभित्रमा गाडीमा प्रयोग हुने कम्तिमा ३० देखि ३५ प्रतिशतसम्म बस्तुहरु नेपालमै उत्पादन गर्न सकिन्छ, यस्ता बस्तु भनेको प्लाष्टिकका बस्तुहरु, सिटहरु, ब्याट्री लगायत हुन सक्छन्,’ गोल्छाले भने ।

उनले एसेम्बलिङ उद्योग संचालनको लागि सुरुमा पार्टसमा छुट र अन्तशुल्कमा अहिलेको १० प्रतिशत छुटलाई बढाएर कम्तिमा २० प्रतिशत पुर्याउनु पर्ने बताए ।


क्लिकमान्डु