यातायातमन्त्रीले भने- यातायातमा सिन्डिकेट हुँदैन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायातमा व्याप्त रहेको सिण्डीकेटले बस व्यवसायी, यात्रु र सरकार कसैलाई पनि फाईदा नभएको बताएका छन् ।

‘सिण्डिकेट रोक्न सरकारले पहल गरेको छ, हामीले सिण्डकेट खारेज गर्न निर्देशन दिईसकेको छ, अझ हामीले भन्दापनि सर्वोच्चको निर्णयबाट सिण्डिकेट खारेज गरेको हो।’ उनले भने । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री महासेठले सिण्डिकेटका कारण बस मालिकहरु नै मार्कामा परेको बताए ।

सिण्डिकेटका कारण देशमा राजश्व पनि नआएको बताउँदै महासेठले भने,‘हामी अब यातायात क्षेत्रलाई उद्योगजस्तै रुप दिन चाहन्छौं, व्यवसायीहरुलाई प्रतिफल मिलोस् भन्ने हाम्रो चाहना छ।’ उनले आफूहरुलाई व्यवसायीहरुबाट सहयोग प्राप्त भएको पनि जनाए ।

मन्त्री महासेठले सिण्डिकेट मुलुकको लागि अभिषाप भएको बताए । उनले भने,‘यसका कारण राज्यले धेरै राजश्व गुमाएको छ, सिण्डिकेट खारेजपछि हामी सबै प्रकारका सुविधाहरु दिन्छौं।’
सिण्डीकेट खारेज गर्ने निर्णयमा बस व्यवसायीहरुले अटेर गरे सरकारले के गर्छ भनेर सोधेको एक प्रश्नमा उनले भने,‘सरकारलाई एक्शन कसलाई गर्ने रु हामी अन्तिमसम्मपनि प्रयास गर्छौ, भएन भने हामी वैकल्पिक व्यवस्था गर्छौं।’

त्यस्तै उनले सरकार आँफैले ५ सय वा हजार बस ल्याउन लागेको छ भनेर हल्ला गरिएकोप्रति आपत्ति जनाए । उनले भने,‘यो गलत कुरा हो, सरकारले बस सञ्चालन गर्दैन्, हामी व्यवसायीहरुलाई डुबाउने पक्षमा छैनौं।’

यस्तै जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा बनाएर सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुन्छ, हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, यही आउने बैशाखबाटै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौं, यो नेपालीहरुको लागि ठूलो उपलब्धि हो।’

मन्त्री महासेठले रेलमार्ग र जलमार्ग बनाउनेबारे भारतसँग भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञा दिए ।

उनले भने,‘हाम्रो प्रधानमन्त्रीले मोदीजीसँग विगतका सन्धि तथा सम्झौताहरु कार्यान्वयन नभएकोबारे ध्यानाकार्षण गराउनुभएको थियो, उहाँले हामी त्यहीँ हुँदापनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो, यो खुशीको कुरा हो।’

कृषि क्षेत्रमा पनि द्धिपक्षीय साझेदारी गर्नेबारे यो पटकको भ्रमणमा कुरा भएको उनको तर्क थियो । उनले भने,‘एक–अर्काका सिप तथा क्षमता आदान–प्रदान गर्नेबारेपनि सहमति भएको छ, हामीले भ्रमणको दौरान पन्तनगरमा रहेको कृषि विश्वविद्यालयको पनि भ्रमण गर्यौं, त्यसैले कृषिमा पनि हामी फड्को मार्ने कोशिस गरिरहेका छौं, कृषिमा आधुनिकिकरणमा हाम्रो जोड रहनेछ ।’


क्लिकमान्डु