जेठ ६ भित्र दाबी गरे सुधीर बस्नेत पीडितको डुबेको पैसा फिर्ता हुने



तस्बिर स्रोत : नागरिक

काठमाडौं । सुधीर बस्नेत अध्यक्ष रहेको ओरेन्टल कोअपरेटिभका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्ताले आफ्नो डुबेको पैसा फिर्ता पाउने भएका छन् ।

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका बचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो ।

विशेष अदालतका पूर्वन्यायधीस गौरबहादुर कार्की अध्यक्ष रहेको उक्त समितिले  सहकारीका बचतकर्ता र अपार्टमेन्टका खरिदकर्तालाई बैशाख २ देखि जेठ ६ गतेसम्म प्रमाणसहित माग दाबी पेश गर्न सूचना नै निकालेको छ ।

‘हामीलाई ऐनले समस्याग्रस्त संस्थामा फसेको सर्वसाधारणको पैसा फिर्ता गर्ने जिम्मा दिएको छ,’ समितिका संयोजक गौरीबहादुर कार्कीले क्लिकमाण्डूसँग भने, ‘हामीले रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका हौं । सम्पत्ति बिक्री गरेर भएपनि रकम फिर्ता दिन्छौं ।’

अहिले बस्नेतको सम्पत्ति खोजिरहेको उनले जानकारी दिए । भेटिएको सम्पत्ति खोजेर दामासाहीमा फिर्ता गरिने बताइएको छ । तपाईंले सहकारी विभागको वेभसाइट www.deoc.gov.np र समितिको वेभसाइट www.coopmc.gov.np मा मार्फत निवेदन दिन सक्नुहुने छ । साथै तपाईंले थप जानकारी दिनु परे समितिको ०१-५०१०३१३ नम्बरमा फोन गर्न सक्नुहुनेछ ।

यसअघि सरकारले ०७० कात्तिक २७ गते कार्कीकै संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको उच्च स्तरीय आयोगको गठन गरेको थियो । आयोगले ०७१ जेठ ५ गते तत्कालीन प्रधानमन्त्री शुसील कोइरालालाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनमा बस्नेतले सहकारीको साढे ३ अर्ब रुपैयाँ र डेढ अर्ब रुरुपैयाँभन्दा बढी हाउजिङ तथा अपार्टमेन्टको ठगी गरेको उल्लेख छ । बस्नेत ठगी मुद्दामा जेल सजाय भोगिरहेका छन् ।

मागदावी पेश गर्दा आफुले बचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्टपारेको छ ।

समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ ।

गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो ।

कार्की संयोजकत्वको आयोगमा १२ हजार बचतकर्ताले १ सय ३४ सहकारी संस्थाले ११ अर्ब रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उजुरी दिएका थिए । जसअनुसार ७ अर्ब ५८ करोड रुपैयाँ साँवा र २ अर्ब ३९ करोड रुपैयाँ व्याज फिर्ता नपाएको देखिएको छ ।

त्यसैगरी हाउजिङ बुकिङकर्ताले बुकिङ गरेको वर्षौ वित्दा पनि हाउजिङ नपाएको भन्दै १ अर्ब ३६ करोड रुपैयाँ दाबीसहित आयोगमा उजुरी दिएका थिए ।

अहिले नेपालमा रहेका ३३ हजार सहकारीमध्ये १३ हजार बचत तथा ऋणको कारोबार गर्छन् । आवश्यक अनुगमन नहुँदा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु संस्थाहरुमा अनेकौं विसंगति देखिएका छन् ।


पुष्प दुलाल