रक्षामन्त्री पोखरेलको पहिलो निर्णय- नेपाली र भारतीय सेनाबीच सूर्यकिरण संयुक्त अभ्यास



काठमाडौँ । नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेका छन्  ।

सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा आज पदबहाली गर्दा उनले पहिलो सो निर्णय गरेका हुन् ।

रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी दिएका थिए। मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ ।

रक्षामन्त्री पोखरेल नेकपा (एमाले) का महासचिव एवं काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुन । विसं २०१० मा ओखलढुङ्गामा जन्मनुभएका पोखरेल १६ वर्षको उमेरदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा होमिएका थिए। विसं २०२६ देखि नेपाली राजनीतिमा निरन्तर सक्रिय उहाँ २२ वर्षका उमेरमा २०३३ सालमा ‘अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी’ को केन्द्रीय सदस्य भएका थिए। विसं २०३५ मा गठित तत्कालीन ‘नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)’ को उनी संस्थापक केन्द्रीय सदस्य थिए ।

विसं २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभाको सदस्यमा निर्वाचित उनले एमालेको आठौँ र नवौँ महाधिवेशनबाट महासचिवमा पनि निर्वाचित भई पार्टीको केन्द्रीय संगठन विभाग प्रमुख, केन्द्रीय सचिवालय सचिव, केन्द्रीय प्रचार विभाग प्रमुख, विभिन्न जनसंगठनका इन्चार्ज, उपत्यका इन्चार्ज र पार्टी केन्द्रीय कार्यालय प्रमुखजस्ता जिम्मेवारी वहन गरिसकेका छन्।


क्लिकमान्डु